Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कुमारी बैंकको खुद ब्याज आम्दानी ३५ प्रतिशत बढ्यो

२०८० माघ ७ गते

बैंकिङ खबर/कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी बढेपनि खुद नाफा भने घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.३१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र कुल सञ्चालन आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३५.०१ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १३१.४४ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४५.२७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ५.०८ प्रतिशत घटेको छ।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ३.१५ प्रतिशतबाट बढेर ४.९७ प्रतिशत पुगेको छ। जसका कारण इम्पेरमेन्ट चार्ज १ अर्ब ४३ करोडबाट बढेर २ अर्ब ७६ करोड पुगेको छ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ७७ करोड रुपैयाँ ऋणात्मक रहको छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ १० पैसा घटेर ६ रुपैयाँ ६१ पैसामा झरेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २४.११ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ८२ पैसा रहेको छ।

२६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ९ अर्ब ६५ करोड ६३ लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले ३ खर्ब १८ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७५ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।