
बैंकिङ खबर/क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न भएको समूहमाथि राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। जालसाजी, सम्पत्ति शुद्धीकरण, गैरकानूनी कारोबारको भुक्तानी सेटलमेन्टका रुपमा क्रिप्टोको प्रयोग बढ्दै गएको र यस्तो काम नेपालभित्रै भएको भन्ने सूचना पाएपछि राजस्व अनुसन्धान विभागले छानबीन अघि बढाएको छ।
नेपालमै बसेर अवैध कारोबारको भुक्तानी सेटलमेन्ट गर्ने कार्यमा संलग्न भइरहेको सूचना पाएपछि विभागले अहिले अनुसन्धानको सघनता बढाएको छ। विभिन्न ठाउँमा ट्र्याक गरेरै अनुसन्धानको दायरा बढाएको छ। यसैबीच विभागले पछिल्लो पटक ९ करोड रूपैयाँ बराबरको कारोबार गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ। यूएसडीपी स्टेबल क्वाइनको कारोबार गरेको भन्दै विभागले अनुसन्धान अघि बढाएको छ। कारोबार गरेको शंकामा विभागले पूर्वी नेपालको एक युवालाई नियन्त्रणमा समेत लिएर अनुसन्धान गरिरहेको छ।
विभागमा असोज १५ गते प्रकाउ गरेको व्यक्तिको विषयमा उजुरी परेको थियो। सोही उजुरीपछि विभागले सुक्ष्म अध्ययन गरेको थियो। अध्ययनको क्रममा उजुरी परेको व्यक्तिको शंकास्पद कारोबार देखिएपछि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। विभागले योसँग जोडिएको जालोमाथि अनुसन्धान गरिरहेको छ।
पछिल्लो समय नेपाललागयतका देशमा यूएसडीपीजस्तै स्टेबल क्वाइन क्रिप्टको प्रचलन बढेको छ। आपराधिक तथा अवैध कारोबारको भुक्तानीमा यस्तो क्वाइनको प्रयोग हुने गरेको छ। दक्षिणपूर्वी एसियामा सम्पत्ति शुद्धीरकण, जालसाजी भुक्तानी माध्यमको रुपमा स्टेबल क्रिप्टो क्वाइनको प्रयोग हुने गरेको सयुक्त राष्ट्र संघीय प्रतिवेदनमा उल्लेख गरिएको छ।



