January 14th, 2024

चालू वर्षको पहिलो त्रैमासमा अर्थतन्त्र ३.२ प्रतिशतले बढ्ने सरकारको प्रक्षेपण

बैंकिङ खबर/ सरकारले चालू आर्थिक वर्ष २०८०-८१ को पहिलो त्रैमासमा कूल गार्हस्थ्य उत्पादन ३.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालू आर्थिक वर्षको पहिलो त्रैमासको कूल गार्हस्थ्य उत्पादनको प्रतिवेदन सार्वजनिक गर्दै अर्थतन्त्र ३.२ प्रतिशतले बढ्ने आकलन गरेको हो ।

त्रैमास सकिएको ९० दिन अर्थात तीन महिनाभित्र कूल गार्हस्थ्य उत्पादनसँग सम्बन्धित प्रतिवेदन सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुरूप पहिलो त्रैमास (साउन–असोज)को प्रतिवेदन सार्वजनिक गर्दै अर्थतन्त्रमा सुधार आउने प्रक्षेपण तथ्याङ्क कार्यालयले गरेको हो ।

प्रतिवेदनअनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा भने अर्थतन्त्र सङ्कुचनमा आउने छ । गत आर्थिक वर्ष २०७९-८० को पहिलो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा १.४ प्रतिशतले खुम्चिने छ ।

कुन क्षेत्रमा कति वृद्धि ?

यस अवधिमा सबैभन्दा बढी खानी तथा उत्खनन क्षेत्रको कूल मूल्य अभिवृद्धि १५.८ प्रतिशतले हुने अनुमान गरिएको छ । यस्तै, निर्माण क्षेत्रसँग सम्बन्धित बालुवा गिट्टी तथा डुङ्गाको कूल मूल्य अभिवृद्धि ११.४ प्रतिशतले बढ्ने तथा वित्तीय तथा बीमा क्षेत्रको कूल मूल्य अभिवृद्धि १३.२ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ ।

यसबाहेक, आवास तथा भोजन सेवा क्षेत्रमा ११.७ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ । यसैगरी, अर्थतन्त्रमा सबैभन्दा बढी योगदान रहेको कृषि, जन तथा मत्स्य क्षेत्रको वृद्धिदर भने जम्मा १.४ प्रतिशतले हुने देखिएको छ ।

खुद्रा तथा थोक व्यापार क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भने १.२ प्रतिशतले कमी हुने प्रक्षेपण गरिएको छ । यी क्षेत्रको तुलना गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा कमी र उच्च रहने अनुमान गरिएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जानकारी दिएको छ ।

यस अवधिमा कूल १८ वटा आर्थिक क्रियाकलापमध्ये १२ वटा क्षेत्रको कूल मूल्य अभिवृद्धि बढ्ने र ६वटाको घट्ने अनुमान सरकारले गरेको छ । यसमध्ये पानी आपूर्ति क्षेत्रको कूल मूल्य अभिवृद्धि ७.३ प्रतिशतले बढ्ने र सार्वजनिक प्रशासन क्षेत्रमा ५.५ प्रतिशतको वृद्धि र रक्षा, सूचना तथा सञ्चार क्षेत्र ३.८ प्रतिशतले बढ्ने अनुमान छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]