January 11th, 2024

विदेशी मुद्रा सञ्चिति १७ खर्ब ६७ अर्ब पुग्यो, १४.१ महिनाको वस्तु आयात धान्ने

बैंकिङ खबर/ विदेशी मुद्रा सञ्चिति १४.८ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार चालू आवको पाँच महिना अर्थात् मंसिर मसान्तसम्म विदेशी विनिमय सञ्चिति १४.८ प्रतिशतले बढेर १७ खर्ब ६७ अर्ब ४ करोड पुगेको हो ।

२०८० असार मसान्तमा यस्तो सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड थियो। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० मंसिर मसान्तमा १३.६ प्रतिशतले बढेर १३ अर्ब ३१ करोड पुगेको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० मंसिर मसान्तमा १५.६ प्रतिशतले बढेर १५ खर्ब ५६ अर्ब २५ करोड रुपैयाँ पुगेको छ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० मंसिर मसान्तमा ८.९ प्रतिशतले वृद्धि भई २ खर्ब १० अर्ब ७९ करोड रुपैयाँ कायम भएको छ।

२०८० मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०८०/८१ को पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.१ महिनाको वस्तु आयात र ११.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८० मंसिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ९८.३ प्रतिशत र २७.५ प्रतिशत रहेका छन्। २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका थिए ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]