२०८० पुष २४ गते

१४ औं वार्षिकोत्सवका अवसरमा फस्ट माइक्रोफाइनान्सद्वारा सहयोग वितरण

बैंकिङ खबर/फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.ज्ञानेश्वर,काठमाडौंले संस्थाको चौधौ बार्षिकोत्सबको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विविध कार्यक्रमहरु सम्पन्न गरेको छ ।

लघुवित्त वित्तीय संस्था स्थापना भएको १४ वर्ष पुरा भई पन्ध्र वर्षमा प्रवेश गरेको सन्दर्भमा संस्थाद्धारा मोरंग, दाङ्ग, ललितपुर र काठमाण्डौ जिल्लामा मानव कल्याणका लागि स्थापनार्थ मानव सेवा आश्रम, सामाजिक कार्यमा क्रियाशिल स्थानिय स्तरका विभिन्न संस्थाहरु र सामुदायिक विद्यालय मार्फत असहाय, विपन्न, जेष्ठ नागरिक, विद्यार्थी तथा सर्वसाधारणका लागि प्रत्यक्ष लाभ पुग्ने जिवन उपयोगि सामाग्रीहरु सहयोग स्वरुप वितरण गरिएको थियो ।

जसअन्तर्गत मोरंग जिल्लाको उर्लावारी न.पा वडा नं ७ मा सेवा लिन आउने सर्वसाधारण सेवाग्राहीहरुका लागि प्रतिक्षा गर्ने स्थलमा बस्ने बेञ्च, ललितपुर म.न पा वडा नं १८ द्धारा सञ्चालित जेष्ठ नागरिक दिवा सेवा कार्यक्रममा सहभागी ४२ जना जेष्ठ नागरिकहरुका लागि जाडो मौसममा तातो हुने खाद्य पदार्थ, काठमाण्डौ सामाखुशी तथा नागार्जुन न.पा, रानीवन स्थित मानवसेवा आश्रममा आश्रित ३४६ जनाको दैनिक भोजनका लागि आवश्यक खाद्य सामग्री, काठमाडौं म.न.पा वडा नं ५ हाडीगाउँस्थित सामुदायिक शहरी स्वस्थ्य क्लिनिकका लागि प्राथमिक उपचारका स्वास्थ्य सामग्री, दाङ्गको घोराही उपमनपा वडा नं १४ स्थित बाल विकास माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि खेलकुद सामाग्री र काठमाण्डौ मनपा वडा नं ३० स्थित वडा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुका लागि तातो/चिसो पानीको सुविधा भएको वाटर डिस्पेन्सर वितरण गरिएको थियो ।