Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

काठमाडौंमा घरजग्गा मेलाः बैंकहरुको यस्तो छ आकर्षक ब्याजदर

२०८० पुष १५ गते

बैंकिङ खबर/ काठमाडौं भृकुटीमण्डपमा जारी घरजग्गा मेलामा सस्तो मूल्यमा अपार्टमेन्ट र घर बिक्रीमा राखेका छन् भने बैंकहरुले आकर्षक ब्याजदर ल्याएका छन् ।

मेलामा साढे २ देखि १३ आनामा बनेका भिल्ला शोकेसमा राखिएको छ । आठौँ पटकको मेलामा सावा २ करोडदेखि १० करोड बढी मूल्यसम्मका घर शोकेसमा राखिएको छ । मेलामा स्वदेशी तथा विदेशी प्रदर्शकहरूले आ–आफ्ना सेवा तथा उत्पादनहरूको प्रदर्शनमा राखेका छन्।

मेलामा घर तथा अपार्टमेन्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियरिङ्ग तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बीमा कम्पनीहरू सहभागी छन्।

मेलामा सिटिजन्स बैंकले १०.९९ स्थिर व्याजदरमा ७ वर्षका लागि सिटीजन्स होम लोन ल्याएको छ । यस लोन अन्तर्गत सुलभ व्याजदर, अधिकतम ५० लाखसम्म कर्जा सुविधा दिने बैंकले जनाएको छ ।

यस्तै एनएमवी बैंकले १०.४९ प्रतिशत स्थिर व्याजदरमा सुलभ घरकर्जा ल्याएको छ । 

यस्तै मेला अवधिभर घरजग्गा बुकिङ गर्नेले जग्गासँग घर साट्न मिल्नेदेखि लिएर ५० लाख रुपैयाँ नगद छुटसम्मको व्यवस्था कम्पनीहरुले गरेका हुन् ।

नेपाल रियल स्टेट म्यानेजमेन्ट लिमिटेडले नेपाल भर जहाँसुकै भएको जग्गासँग घर साट्न सकिने अफर ल्याएको छ । सो जग्गाको मूल्य निर्धारण गरेर जग्गासँग घर अथवा जग्गासँग जग्गै साट्न सकिने व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

यस्तै घरजग्गा खरिद गर्दा २५ प्रतिशत डाउनपेमेन्ट गरेर बाँकी रकम तिर्नको लागि एक वर्षको समय दिइएको छ । एक वर्ष मासिक किस्ता बुझाए कुनै पनि ब्याज नलाग्ने रियलस्टेट म्यानेजमेन्ट लिमिटेडले जनाएको छ । यो कम्पनीले भैसेपाटी वा चाँगुनारायणमा रहेको घरजग्गामा एक्सचेन्जको अफर ल्याएको हो ।

यस्तै, यो कम्पनीको घरजग्गा खरिदमा ११ प्रतिशतसम्मको ब्याजदरमा हाउजिङ लोन पाइने गरी प्राइम, नबिल बैंकसँग सम्झौता गरेको जनाएको छ । यो व्याजदर स्थिर हो । रियलस्टेट म्यानेजमेन्टले चाँगुनारायणमा ७४ वटा घर बनाइरहेको छ भने भैसेपाटीमा २० रोपनीको ५४ वटा जग्गा रहेको छ । साढे ४ आनादेखि एक रोपनीसम्मको ब्लक दिन मिल्ने गरी जमिनहरुको संरचना बनाएको छ । भैसेपाटीको ४७ लाख प्रति आना मूल्य राखिएको र यसमा १५ प्रतिशत छुट दिइएको छ । यस्तै साइट भिजिट गरेर बुकिङ गर्नेलाई ५० लाखसम्मको नगद छुट दिइएको कम्पनीले जनाएको छ ।

यता पद्दमा कोलोनीले मेलामा घर बुकिङ गर्नेलाई सात प्रतिशतसम्म छुट दिएको छ । यस्तै अपार्टमेन्ट बुकिङ गर्नेलाई सुरक्षा डिपोजिटमा ३ लाख बराबरको छुट दिएको छ । पद्माको ठुलो भर्याङमा १३४ अपार्टमेन्ट बन्दै छ भने डाडापौवामा ९२४ वटा बनिरहेको छ । ६० लाख रुपैयाँ देखिका अपार्टमेन्ट बिक्रिमा राखिएको छ । मेलामा बुकिङ गर्नेले भने ५ लाख रुपैयाँ बुकिङ चार्ज दिन सक्नेछन् ।

यस्तै भूमि कोलोनीले मेलामा बुकिङ गर्नेलाई १० प्रतिशतसम्म छुट दिएको छ । भूमिले गोदावरीमा ७२ वटा कोलोनी बनाइरहेको छ । ५ आनादेखि १२ आनासम्मको जग्गामा बनेका कोलोनीको मूल्य ३ करोड ९० लाख देखि साढे ७ करोड रुपैयाँसम्म राखिएको छ ।

भूमिले आफ्नो कोलोनी खरिद गर्नेलाई नबिलसँग १०.५९ प्रतिशत ब्याजदरमा ७ देखि १० वर्षसम्म किस्ता तिर्न मिल्ने गरि व्यवस्था गरेको छ । आजै बुकिङ गरेभने २ महिनानमा पास गरे भने ५ प्रतिशतसम्म छुट छ ।

डेभलपर्सले बनाइरहेको हेपाली हाइटको आकृति कोलोनी बुक गर्नेले ३० लाख छुट पाउनेछन् । यसमा ९ वटा घर बाँकी रहेको छ । यस्तै आभास कोलोनी बुकिङ गर्दा भने २५ लाख छुट पाइने कमपनीले जनाएको छ । आभास बनिरहेको योजना हो । अहिले बुक गर्नेलाई १८ महिनाभित्र कोलोनी हस्तान्तरण हस्तान्तरण गरिने कम्पनीले जनाएको छ ।

सिइ कन्स्ट्रक्सनले वाफल ताहाजल, विराटनगर, पोखरा भोटेबहालमा कोलोनी तथा अपार्टमेन्ट बनाइरहेको छ । सो कोलोनी मेलामा बुकिङ गर्नेले तिन वर्षभित्र तिन–तिन महिनामा किस्ता तिर्न सकिने व्यवस्था गरिएको छ । एउटा अपार्टमेन्टको २ करोड २९ लाख देखि ४ करोडसम्मका अपार्टमेन्ट छन् ।