Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सूर्यज्योति लाइफको १ वर्ष : ५७९ जनालाई प्रत्यक्ष रोजगारी, ८ अर्बले बढ्यो बीमा कोष

२०८० पुष ८ गते

बैंकिङ खबर/जीवन बीमा कम्पनीहरुमध्ये पहिलो पटक मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पूरा गरेको छ। यस अवधिमा आफूलाई अझै दह्रिलो रुपमा उभ्याउन सफल भएको कम्पनीले जनाएको छ।

‘एक वर्षको अवधिमा अझै विस्तारित शाखा सञ्जाल, परिष्कृत बीमा योजनाहरु र ग्राहकमैत्री सेवा पस्केर ऐतिहासिक सफलताको बाटोमा लम्किने प्रयास जारी राखेको छ’, कम्पनीले भनेको छ। मर्जरपछि चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुर्याएको यो कम्पनीले संयुक्त कारोबार सुरु गरेको एक वर्षको अवधिमा जीवन बीमा कोष झण्डै ८ अर्ब रुपैयाँले बढेर ३० अर्ब रुपैयाँ पुगेको छ।

यो कम्पनीको कुल लगानी करिब ३५ अर्ब रुपैयाँ छ। कम्पनीले मङ्सिर मसान्तसम्ममा आफ्नो नेटवर्थ ७ अर्ब ४० करोड रुपैयाँ कायम गर्न सफल भएको छ। चालू आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा सूर्यज्योति लाइफले कुल ५२ करोड रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ।

देशभर कम्पनीका १७६ शाखा सञ्जाल र अभिकर्ता छन्। कम्पनीले करिब २३ लाख जीवन बीमालेख बिक्री गरिसकेको छ। जनशक्तिका हिसाबले यो कम्पनी सबैभन्दा ठूलो रोजगारदाता जीवन बीमकका रुपमा समेत उभिएको छ।

कम्पनीमा हाल ५७९ कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् भने देशैभरि करिब ९४ हजार अभिकर्ता आबद्ध छन्। ‘बजारको आवश्यकता र नवीनतम सोचअनुसार बीमा योजनाहरु ल्याउने रणनीतिअन्तर्गत यो जीवन बीमा कम्पनीले हालै कम प्रिमियममा नै ठूलो बीमा गर्न सकिने र ७० वर्षको उमेरमा तिरेको सम्पूर्ण रकम फिर्ता हुने साथै रक्षावरण आजीवन रही रहने आजीवन म्यादी बीमा ‘सही प्लान’बीमा योजना सार्वजनिक गरिसकेको छ’, कम्पनीले भनेको छ।

बीमा नियामक नेपाल बीमा प्राधिकरणले चुक्ता पूँजी वृद्धिको माध्यमबाट जीवन बीमा कम्पनीहरुबीच मर्जरलाई प्रोत्साहन गर्ने रणनीति बनाएपछि सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सले २०७९ असार १२ गते मर्जरका लागि सहमति पत्रमा हस्ताक्षर गरेका थिए।

बीमाङ्की मूल्याकन, विस्तृत लेखा परीक्षण र साधारण सभापछि यी दुवै कम्पनीले मर्जरको अन्तिम सम्झौतामा हस्ताक्षर गर्दै २०७९ पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाममा संयुक्त कारोबार शुभारम्भ भएको थियो। नेपालमै आईएसओ ९००१ः२०१५ गुणस्तर चिह्न प्राप्त गर्ने पहिलो सूर्यज्योति लाइफ बन्न सफल भएको छ।