
बैंकिङ खबर/ ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.को आ.व. २०७८/७९ अवधिको आठौं वार्षिक साधारण सभा मंसिर ३० गते शनिवार बुटवलमा भौतिक तथा भर्चुअल/विद्युतीय माध्यम मार्फत सञ्चालक समितिका अध्यक्ष शिवहरी दंगालको अध्यक्षतामा सम्पन्न भएको छ ।
उक्त सभामा सञ्चालक समितिकोतर्फबाट अध्यक्षले वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा संस्थाले आ.व. २०७८/७९ को असार मसान्तसम्म सातवटै प्रदेशका ५७ जिल्लामा १८९ शाखा कार्यालय मार्फत लघुकर्जा तथा बचतको माध्यमबाट लघुवित्त सेवा पुर्याएको बताए ।
आ.व.२०७१/७२ मा संस्था मर्जर हुँदा कुल संचित नोक्सानी रू. ७६ करोड ६१ लाख १५ हजार रहेकोमा २०७९ असार मसान्तसम्म आइपुग्दा सञ्चित नोक्सानी राफसाफ भई रू.२ करोड ३१ लाख २१ हजार सञ्चित मूनाफा कायम हुन आएको विवरण अध्यक्षले पेश गरे ।
आ.व.२०७८/७९ को अवधिमा संस्थामा लगानीमा रहेको बाँकी कर्जा रू. १३.६७ अर्ब र बचत परिचालन रू. ३.९२ अर्ब रहेको बताउँदै अध्यक्ष दंगालले समीक्षा अवधिमा गत वर्षको तुलनामा लगानीमा रहेको बाँकी कर्जामा ७.९८ प्रतिशत र वचत परिचालनमा ३.२४ प्रतिशतले बृद्धि भएको विवरण पेश गरे ।
शेयरधनीको तर्फबाट चन्द्र नारायण श्रेष्ठले मन्तव्य राख्ने क्रममा नेपाल सरकारको गरिबी न्यूनीकरण गर्ने अभियानमा ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. ले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै शेयरधनीहरुलाई उचित प्रतिफल दिने गरी मितव्ययी तरिकाले काम गर्न सञ्चालक समिति र व्यवस्थापनलाई सुझाव दिँदै आठौं वार्षिक साधारण सभाको सफलताको कामना गरे ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव श्याम कुमार कटुवालले सञ्चालन गरेको साधारण सभामा शेयरधनीले उठाएका जिज्ञासाका सम्बन्धमा सभाका अध्यक्ष दंगालले जवाफ दिँदै संस्थाले शेयरधनी एवं ग्राहक सदस्यहरूको हित संरक्षण र सम्वद्र्धन हुने गरी आफ्नो कारोवार सञ्चालन गर्दै आएकोे र शेयरधनीहरूलाई उचित प्रतिफल दिन संस्थाले योजनावद्ध ढंगले काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै अन्त्यमा, सम्पूर्ण उपस्थित शेयरधनी महानुभावहरुलाई धन्यवाद ज्ञापन गरी सभाको समापन गरे ।



