
बैंकिङ खबर/अर्थमन्त्री डा.प्रकाशशरण महतले बीमा प्राधिकरणले काम गर्ने प्रक्रियामा धेरै परिर्वतन गर्न आवश्यक रहेको बताएका छन् । शुक्रवार ललतिपुरमा बीमा सर्भेयर संघ नेपालले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले यस्तो बताएका हुन् ।
उनले बीमा क्षेत्रमा भएका विकृति र विसंगतिहरु नियन्त्रण गर्न प्राधिकरणले प्रभावकारी भुमिका खेल्न आवश्यक रहेको बताए । उनले प्राधिकरणले बीमा कम्पनी वा कसैको प्रभावमा नपरी निष्पक्ष ढङ्गले काम गरे मात्रै बीमा क्षेत्रमा सुधार हुने अपेक्षा रहेको उल्लेख गरे ।
उनले प्राधिकरणले वास्तविकतामा नियमनको काम गरे मात्रै बीमा क्षेत्रको गुणस्तरमा वृद्धि हुने दाबी गरे । उनले बीमा कम्पनीहरुले बीमा लिने बेलामा आकर्षण विज्ञापन गर्ने तर दिने बेलामा झन्झटीलो प्रक्रिया गराउने काममा प्राधिकरणले सहज बनाउने गरी काम गर्न आग्रह गरे । उनले बीमा कम्पनीहरुले आकर्षित विज्ञापन गरी बीमा गराएर स्रोत जम्मा गर्ने र दिने बेलामा अनेकौं झमेला गराउँदा बीमा गराउनेहरु कम हुँदै गएको बताए ।
उनले बीमा क्षेत्रको सुधारको लागि नियामक निकाय बीमा प्राधिकरणलाई निर्मम भएर काम गर्न आग्रह गरे । उनले प्राधिकरणलाई कसैको प्रभावमा नपरी वास्तविकतामा रहेर काम गर्न निर्देशन दिए ।



