२०८० मंसिर २८ गते

आरम्भ चौतारी लघुवित्तद्वारा वित्तीय साक्षरता र सरफ बनाउने तालिम प्रदान

 
बैंकिङ खबर/आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड प्रदेश कार्यालय, गण्डकी अन्तर्गतको शाखा कार्यालय ढोरफिर्दी तनहुँमा वित्तीय साक्षरता तथा झोल सरफ बनाउने तालिम शुक्ला गण्डकी नगरपालिका वडा नं.४ दुलेगौंडामा सम्पन्न भएको छ । शाखाका शाखा प्रबन्धक प्रेम नारायण पौडेलको सभापतित्वमा सञ्चालित तालिममा शुक्ला गण्डकी नगरपालिका वडा नं. ८ का प्रमुख नारायण सिंह थापा रहेका थिए ।

प्रमुख अतिथि थापाले उत्पादित सरफलाई बिक्रीका लागि विशेष पहल गर्ने प्रतिबद्धतासहित सस्था र शाखा कार्यालयलाई तालिमको आयोजनाका लागि धन्यवाद दिए ।

आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेड गण्डकी प्रदेश प्रमुख टोप बहादुर रास्कोटीले लघुवित्त वित्तीय संस्था र संस्थाले दिने सेवासुविधाहरु सम्बन्धमा जानकारी दिँदै गण्डकी प्रदेशमै आर्थिक वर्षको पहिलो वितीय साक्षरता तथा व्यावसायिक तालिम भएको बताए ।

दैनिक जीवनमा सवैको घरमा सरफ हार्पिक प्रयोग हुने भएकोले बजारीकरणको समस्या नहुने बताउँदै तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्नु पर्ने बताए ।  उन्नति कृषि सहकारीका प्रबन्धक कोमल बहादुर बानियाले उत्पादनमा जोड दिनुपर्ने बताए ।

तालिममा सहभागीलाई गणेश खत्रीले झोल सरफ र हर्पिक बनाउने तालिम दिएका थिए । शाखा प्रबन्धक प्रेम नारायण पौडेल र प्रदेश प्रमुख टोप बहादुर रास्कोटीले वित्तीय साक्षरता तालिम गराएका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य ढोरफिर्दी शाखामा कार्यरत कर्मचारी नमिता अधिकारी शर्मा र कार्यक्रमको सञ्चालन निर्मला देवी शर्माले गरेकी थिइन् । सहभागीहरुको तर्फबाट जमुना तिमल्सिना, बिष्णु वि.क, ईन्दिरा रेग्मी लगायतले अब व्यवसायीक बन्ने बताइन् । उक्त तालिममा शाखाका विभिन्न ३२ समुहका ४८ जना सदस्यहरूको सहभागिता रहेको थियो ।

बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेड, देउराली लघुवित्त वित्तीय संस्था लिमिटेड र चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज भई आरम्भ चौतारी लघुवित्तको रुपमा काम गर्दै आइरहेको छ ।

६ प्रदेश कार्यालय र १४० शाखा कार्यालयमार्फत यस लघुवित्त वित्तीय संस्थामा ९८ हजार सदस्य ४० हजार ऋणीमार्फत १ अर्व ४३ करोड बचत निक्षेप संकलन गरी ४ अर्व ६६ करोड उठाउन बाँकी कर्जा लगानी गरेको छ । गण्डकी प्रदेशका ७ जिल्लाहरुमा १४ शाखाबाट सेवा प्रदान गरेको छ ।