
बैंकिङ खबर/विशेष अदालत काठमाडौंले नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको इजलासले कसुर ठहर गरेको हो।
कोइरालाको मुद्दामा कसुर ठहर भएको र सजाय निर्धारणका लागि पुस ११ मा इजलासमा पेश गर्ने आदेश भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकमा कार्यरत कोइरालालाई बैंकको सिस्टम ह्याक गर्ने, बैंकमा जम्मा गर्नुपर्ने व्याज आफ्नो निजी खातामा जम्मा गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै २०७७ असार ३१ मा मुद्दा दर्ता गरेको थियो।
नेपाल बैंक लिमिटेडको काठमाडौंको बंैकिङ अफिस र डिल्लीबजार शाखामा कार्यरत रहेका कोइरालाले बैंकिङ सिस्टमअन्तर्गत व्यक्तिगत दिइएको अरु कसैले प्रयोग गर्न नमिल्ने टेलर आइडी र सिस्टम सुपर युजर विद्युतीय माध्यमको दुरुपयोग गरेको भेटिएको थियो। त्यसमार्फत उनले ५४ लाख ८४ हजार रुपैयाँ विभिन्न खातामा जम्मा गरी भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएको अख्तियारको दाबी थियो।


