Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा कम्पनीको नाफामा वृद्धि

२०८० मंसिर २० गते

बैंकिङ खबर/बीमा कम्पनीहरूको नाफामा भने दोहोरो अंकको वृद्धि देखिएको छ । चालू आर्थिक वर्ष ०८०/८१ को पहिलो त्रैमासमा जीवन तथा निर्जीवन बीमाहरूको खुद नाफा औसतमा २७ प्रतिशतले बढेको छ ।

हाल नेपालमा १४–१४ वटा जीवन तथा निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । उनीहरूले हालै सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणसम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो । समीक्षा अवधिमा वाणिज्य बैंकहरूको नाफा २८ प्रतिशतले घटेको छ ।

तर, बीमा कम्पनीहरूको नाफा भने २७ प्रतिशतले बढेको प्रतिवेदनले देखाएको छ । समीक्षा अवधिमा २८ कम्पनीले दुई अर्ब ६९ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । गत आवको सोही अवधिमा उनीहरूको नाफा दुई अर्ब १२ करोड ८२ लाख रुपैयाँ रहेको थियो ।

बीमा कम्पनीहरूको यो नाफा बिमांकीय मूल्यांकनभन्दा अघिको हो । बिमांकीय मूल्यांकन गर्दा कम्पनीको बिमा कोषको १० प्रतिशतसम्म रकम नाफा–नोक्सान खातामा सार्न सकिन्छ । त्यसले गर्दा बिमा कम्पनीहरूको नाफा थप बढ्न छ ।

बीमा कम्पनीहरूले आफ्नो व्यवसाय तथा वित्तीय विवरणको लेखापरीक्षण मात्रै गरेर हुँदैन । बीमा दाबी, जोखिमलगायतका विषयलाई समेटेर थप बिमांकीय मूल्यांकन पनि गर्नुपर्ने हुन्छ ।

जीवन बीमा कम्पनीको नाफामा ३३% वृद्धि

समीक्षा अवधिमा जीवन बीमा कम्पनीको मात्रै नाफा ३३ प्रतिशतले बढेको छ । गत आवको पहिलो त्रैमासमा १४ जीवन बीमा कम्पनीको नाफा एक अर्ब २९ करोड ४८ लाख रुपैयाँ थियो । यसपालि त्यो एक अर्ब ७१ करोड ९९ लाख रुपैयाँ पुगेको छ ।

जीवन बीमा कम्पनीतर्फ नाफा कमाउने मामिलामा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी पहिलो नम्बरमा छ । उक्त कम्पनीले समीक्षा अवधिमा २४ करोड १३ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको छ । दोस्रो नम्बरमा एसियन लाइफ इन्स्योरेन्सले १६ करोड ६१ लाख ६६ हजार नाफा कमाएको छ । तेस्रो स्थानमा रहेको सन नेपाल लाइफले भने १६ करोड ५३ लाख २७ हजार नाफा कमाएको छ ।

निर्जीवन बीमा कम्पनीको नाफामा १८% वृद्धि

समीक्षा अवधिमा १४ निर्जीवन बीमा कम्पनीको औसत नाफा भने १८ प्रतिशतले बढेको छ । गत आवको पहिलो त्रैमासमा उनीहरूको नाफा ८३ करोड ३३ लाख १९ हजार रुपैयाँ थियो । यसपालि उनीहरूको नाफा बढेर ९७ करोड ९२ लाख ८२ हजार रुपैयाँ पुगेको छ ।
निर्जीवनतर्फ नाफा कमाउने मामिलामा नेपाल इन्स्योरेन्स अग्रस्थानमा देखिएको छ ।

पहिलो त्रैमासमा उक्त कम्पनीले १४ करोड ६१ लाख ७६ हजार रुपैयाँ नाफा कमाएको छ । दोस्रोमा भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । समीक्षा अवधिमा उक्त कम्पनीले १४ करोड ६१ हजार रुपैयाँ नाफा कमाएको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय बिमा कम्पनीले भने १३ करोड ७६ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको छ ।