Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कालोसूचीमा पर्ने ऋणीको संख्या बढ्दो

२०८० मंसिर ८ गते

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर नतिरेपछि दैनिक कालोसूचीमा पर्नेको संख्या बढ्दै गएको छ । कर्जा सूचना केन्द्रका अनुसार कात्तिकसम्म कालोसूचीमा पर्ने ऋणीको संख्या ७३ हजार ३७१ पुगेको छ ।

गत आर्थिक वर्ष ३४ हजार ८१ ऋणी संस्था तथा व्यक्तिहरू कालोसूचीमा परेका थिए । तर चालु आर्थिक वर्षको चार महिनामा नै १४ हजार ७७५ संस्था तथा व्यक्ति कालोसूचीमा परेका छन् । कालोसूचीमा पर्नेमा व्यावसायिक संस्था तथा व्यवसायीहरू र तीनका जमानी बस्नेहरू रहेको कर्जा सूचना केन्द्रले जनाएको छ ।

गत वर्षको तुलनामा कालो सूचीमा यस्ता संस्था र व्यक्तिहरू बढ्दै जाने देखिन्छ । पछिल्लो पाँच वर्षको तथ्यांकअनुसार कालोसूचीमा पर्ने लगातार बढ्दै गएका छन् । आर्थिक वर्ष २०७५/७६ मा दुई हजार ८३७ ऋणी संस्था र व्यवसायीहरू कालोसूचीमा परेका थिए । तर त्यसयता लगातार बढ्दै गएर अहिले दैनिक ४०० सम्म कालोसूचीमा पर्नेको नाम आउने गरेको छ ।

केन्द्रका अनुसार २०७६/७७ मा चार हजार ६२०, आर्थिक वर्ष २०७७/७८ मा ६ हजार ५१४ र आर्थिक वर्ष २०७८/७९ मा १५ हजार ९९५ ऋणीहरू कालोसूचीमा परेका हुन् ।