November 9th, 2023

नेपालको जलविद्युतमा लगानी गर्न एसियाली मुलुकका बैंकका सीईओहरुलाई अर्थमन्त्रीको आग्रह

बैंकिङ खबर/अर्थमन्त्री डा.प्रकाशशरण महतले एसियाली मुलुकका बैंकका सीईओहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

बिहीबार काठमाडौँमा भएको ३९औँ एसियन बैंकर्स एशोसिएशनको जनरल मिटिङ एण्ड कन्फ्रेन्सलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले नेपालको जलविद्युत क्षेत्रमा लगानी गरे सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

अर्थमन्त्री महतले अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउँदै सन् २०४५ भित्र विशुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्य रहेको बताए। उनले सरकारले नीतिगत रूपमा व्यवस्था गरी हरित ऊर्जालाई प्रोत्साहन गर्ने जिकिर गरे ।

उनले भारतले यो भन्दा अगाडि १० वर्षमा १० हजार मेगावट जलविद्युत खरिद गर्ने प्रतिबद्धता जनाएको स्मरण गराए । सरकारले जलविद्युत क्षेत्रमा लगानी गर्ने लगानीकर्ताको सुरक्षामा सरकार प्रतिबद्ध रहेको उनको भनाई थियो।

मन्त्री महतले विश्व बैंक र एडिबीले पनि नेपालको ठुलो जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको पनि जानकारी दिए । उनले पछिल्लो समय नेपालको जलविद्युत क्षेत्रमा वैदेशिक लगानी वृद्धि हुँदै गएको बताए ।

अर्थमन्त्री महतले सरकारले विद्युत् उत्पादन,साना उद्योग तथा कृषिमा प्रमुख प्राथमिकतामा राखेर नीतिगत व्यवस्था गरिरहेको दाबी गरे।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]