नेपालको बैंकिङ प्रणालीमा भारु ५०० र १००० का नोट साढे तीन करोड रुपैयाँ बराबर मात्र रहेको पुष्टि भएको छ । सबै बाणिज्य बैंक, बिकास बैंक, फाइनान्स कम्पनी तथा भारु साट्ने अनुमति पाएका मनी चेञ्जर, होटल एवं ट्राभल एजेन्टहरुसँग भएको विवरण संकलन गर्दा यस्तो पाइएको हो । यी संस्थाहरुले राष्ट्र बैंकको निर्देशनअनुरुप आफूसँग भएको उक्त दरका नोटको विवरण संकलन गरीे राष्ट्र बैंकमा रिपोर्टिङ गरेका थिए ।
वित्तीय प्रणाली बाहिर कति छ, यकिन भन्न सकिन्न
वित्तीय प्रणालीमा धेरै भारु नरहेको पाइएपनि वित्तीय प्रणालीबाहिर सो दरका भारतीय नोट कति भन्ने जानकारी राष्ट्र बैंकसँग छैन । वित्तीय प्रणालीभित्र र बाहिर गरेर कुल यति नै ५ सय र १ हजार दरका भारतीय नोट नेपालमा छन् भन्ने यकिन भन्न नसकिने राष्ट्र बैंकको भनाइ छ । ‘वित्तीय प्रणाली भित्र धेरै ठूलो परिमाणको भारु नरहेको भए पनि सर्वसाधारणसँग उक्त नोट कति छ भन्ने जानकारी छैन’ राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले भने, ‘नेपालको बैंकिङ प्रणालीमा साढे तीन करोडको भारु ५०० र १००० का नोट छन्, जनतासँग कति होला यसमा कुनै प्रतिक्रिया उपलब्ध छैन ।’
सटही सुविधाका लागि पहल हुँदैछ
वित्तीय प्रणालीमा भएको उक्त दरका नोट सटहीका लागि राष्ट्र बैंकले भारतीय केन्द्रिय बैंक, भारतीय रिजर्भ बैंक (आरबिआई) लाई पत्राचार गरेको थियो । प्रवक्त पौडेलका अनुसार अझै पनि भारतबाट सटही सुविधा पाउने ग्यारेन्टी आएको छैन । ‘भारतको केन्द्रिय बैंक रिजभ बैंक अफ इन्डियाले नेपाल राष्ट्र बैंकलाई पैसा कति स्टक छ भनेर सोधेको छ’ उनले भने, ‘तर पहिलाको प्रावधान अनुसार बैध रुपमा नेपालीले प्रति व्यक्ति २५ हजार रुपैयाँसम्मको ५०० र १००० भारु नोट साट्न पाउने व्यवस्थालाई पहल गरेका छौं ।’ एक जना बराबर कम्तिमा त्यति रकमको सटही सुविधा दिन राष्ट्र बैंकले भारतीय रिजर्भ बैंक एवं नेपाल स्थित भारतीय दूतावास मार्फत भारत सरकारलाई अनुरोध गर्दै आएको प्रवक्त पौडेलले बताए ।