
बैंकिङ खबर/नेपालमा वास्तविक नेपालीहरूको संख्या भन्दा झन्डै दोब्बर संख्यामा बैंक खाता सञ्चालनमा रहेको पाइएको छ । वित्तीय ग्राहक संरक्षणका लागि नेपाल राष्ट्र बैंकबाट गरिएका व्यवस्थासम्बन्धी विवरण पुस्तिका सार्वजनिक गर्दै केन्द्रीय बैंकले २०८० असार मसान्तसम्म बैंकहरुको निक्षेप खाताको संख्या ५ करोड ११ लाख ७७ हजार ९२३ पुगेको जनाएको हो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार हाल नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ। जनसङ्ख्याको तुलनामा बैंकहरुमा खोलिएको निक्षेप खाताको संख्या १.७५ गुणाले बढी हो ।
यस्तै, सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा १८ लाख ४५ हजार २१३ वटा कर्जा खाता खोलिएको समेत केन्द्रीय बैंकले जनाएको छ ।
तीमध्ये ८५.९३ प्रतिशत निक्षेप खाता र करिब ८१.९५ प्रतिशत कर्जा खाता वाणिज्य बैंकमा रहेको बैंकले जनाएको छ । यस्तै, २०८० असार मसान्तसम्ममा कूल १ करोड ८९ लाख ४१ हजार ७९३ वालेट प्रयोगकर्ता तथा २ करोड १३ लाख ६३ हजार ९८९ मोबाइल बैंकिङ प्रयोगकर्ता रहेका केन्द्रीय बैंकले जनाएको छ ।
२०८० असार मसान्तसम्ममा वाणिज्य बैंकको सङ्ख्या २० वटा रहेको छ भने विकास बैंकहरुको सङ्ख्या १७ वटा, वित्त कम्पनीको सङ्ख्या १७ वटा र लघुवित्त वित्तीय संस्थाहरूको सङ्ख्या ५७ वटा रहेका छन् । यी बैंक तथा वित्तीयहरूबाट कूल ११ हजार ५८९ वटा वित्तीय सेवा केन्द्रहरूमार्फत देशैभरि सेवा प्रवाह भइरहेको समेत केन्द्रीय बैंकले आफ्नो विवरण पुस्तिकामा उल्लेख गरेको छ ।




