October 31st, 2023

ओटीसी मार्केट के हो ? कसरी हुन्छ कारोबार ?

बैंकिङ खबर/ सेयर बजार व्यापारमा ब्रोकरहरूजस्ता मूल्य प्रणालीको संलग्नता बिना सिधा एक्सचेञ्जमार्फत व्यापार गर्न अपनाइएको प्रणाली ओटीसी बजार हो । यसमार्फत हुने व्यापारलाई छोटकरीमा ओटीसी अर्थात् ओभर दी काउन्टर भनिन्छ । सामान्यतयाः नेप्सेमा सूचीकरण हुन नसकेका, सूचीकरणबाट हटाइएका तथा सूचीकरणका लागि आवश्यक सर्त पूरा गर्न नसकेको कम्पनीहरूको धितोपत्रहरूमा तरलता कायम गरी सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्ने हेतुले ओटीसीमार्फत सेयर व्यापार गर्ने गरिन्छ ।

यसअघि कम्पनी रजिस्ट्रार कार्यालयबाट यस्ता कम्पनीहरूको कारोबार हुँदै आएको थियो । पछिल्लो समय नियामक निकायले ओटीसी बजारबाटै कारोबार गर्न निर्देशन दिएका छन् । बजारमा कारोबार गर्न सम्बन्धित कम्पनी दर्ता हुनुपर्छ । दर्ता निःशुल्क हुन्छ । तर, सेयर खरिद बिक्री भएको अवस्थामा भने नेपाल धितोपत्र बोर्ड र धितोपत्र बजारलाई निश्चित शुल्क बुझाउनुपर्छ । त्यस्तै, नेपाल सरकारलाई पुँजीगत लाभकर पनि बुझाउनुपर्छ ।

सर्वसाधारणमा सेयर जारी नगरेका कम्पनीले यो प्रणालीमा आएर सेयर स्वामित्व परिवर्तन गर्न सक्छन् । ओटीसीमार्फत व्यापार गर्न कम्पनीले सर्वसारधाणमा सेयर जारी गर्नुपर्ने बाध्यता हुँदैन । ओटीसी बजारमार्फत ०६८ सालमा पहिलो पटक नेपाल बैंकको सेयर खरिद बिक्री भएको थियो ।

तीन महिनामा १ अर्ब ७१ करोडको सेयर कारोबार

ओभर दी काउन्टर (ओटीसी) मार्केटबाट पहिलो त्रैमासमा कुल १ अर्ब ७१ करोड ६ लाख ६८ हजार ७४० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । विभिन्न २३ कम्पनीका कुल १ करोड ३६ लाख ७२ हजार १२० कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

ओटीसी बजारमा पहिलो त्रैमासमा कारोबार भएका कम्पनीमध्ये वर्ल्डलिंकको सेयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता ९ हजार ३७५ रुपैयाँ छ । ओटीसी बजारमा कारोबार भएका अन्य कम्पनीमा हिम रिभर पावर, आईएमई डिजिटल सोलुसन, नेपाल क्यान्सर हस्पिटल, मुक्तिनाथ कृषि कम्पनी, एभरेस्ट हस्पिटालिटी, बीओके क्यापिटल, याम्बलिङ हाइड्रोपावर, गर्जाङ उपत्यका पावर छ ।

त्यस्तै जनज्योति एजुकेसन फाउन्डेसन, अपोलो हाइड्रोपावर, इलेक्ट्रोपावर, सोपान मल्टिपल, आभासार इक्विटी, बन्दीपुर केबलकार, अन्नपूर्ण केवलकार, भरतपुर सामुदायिक हस्पिटल, चण्डेश्वरी महादेवखोला, लक्ष्मी स्टिल, गरिमा क्यापिटल, चार्टर्ड क्यापिटल, बरुण इन्भेस्टमेन्ट र काठमाण्डु मेडिकल कलेजको सेयर ओटीसी बजारमा कारोबार भएको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]