
बैंकिङ खबर/तनहुँ बन्दिपुर–१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्ना ३० जना ग्राहक सदस्यहरुको सहभागितामा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–८, सन्तपुरमा “दालमोठ, भुजिया, पापड बनाउने तालिम” सम्पन्न गरेको छ ।
तालिममा अनिता कुमारी दनुवार, रोहित कुमार श्रेष्ठ, राधे कृष्ण दत्तले प्रशिक्षण दिएका थिए । दालमोठ, भुजिया, पापड बनाउने विधिका बारेमा, संस्थाका सेवाहरुको बारेमा साथै वित्तीय साक्षरता सम्बन्धी विषयमा तालिममा सहभागीहरुले जानकारी हासिल गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले बताए ।
संस्थाले २०७४ सालदेखि निरन्तर लघुवित्त सेवा प्रदान गर्दै आएकोछ । यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको बारेमा पनि जानकारी गराइएको थियो ।
यो सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ प्रदेश, ४३ जिल्लाहरुमा ९० शाखा कार्यालयहरु, ६ मुकाम कार्यालय, सम्पर्क कार्यालय र केन्द्रीय कार्यालय गरी ९८ कार्यालयहरुको सञ्जालहरुमार्फत संस्थाले लघुवित्त सेवा प्रदान गर्दै आई रहेकोछ ।
संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरीब, विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितोमा कर्जा लगानी गर्नुका साथै सीपमूलक तालिम, वित्तीय साक्षरता तालिम कार्यक्रमहरु सञ्चालन गर्दै ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक, बौद्धिक विकास गर्दै आई रहेको छ ।
यस संस्थाले देशको ग्रामीण क्षेत्रलाई प्राथमिकता दिई शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई आवश्यकतानुसार लगानी गर्दै आई रहेको छ । संस्थाले हालसम्ममा ७५ हजार ९८६ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाले २०८० हालसम्ममा लगानीमा रहेको कर्जा रु. ३ अरब ८३ करोड रहेको छ भने ग्राहक सदस्यहरुको रु. १ अरब १४ करोड बचत परिचालन गरेको छ ।
सहभागीहरुमध्ये संगिता कुमारी चौधरी, अन्जु कुमारी चौधरी र ललिता देवीले तालिमको मूल्याकंनसहित मन्तब्य राखेका थिए । ब्यवसायिक रुपमा दालमोठ उत्पादन गरेमा दालमोठ, भुजियाबाट मनग्य फाईदा लिन सकिने रहेछ । ब्यवसायिक रुपमा दालमोठ उत्पादन गर्नमा यस तालिम फलदायि हुने सहभागीहरुले बताएका थिए । सहभागीहरुले तालिममा सिकेका ज्ञान, सीप ब्यवहारमा उतार्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
संस्थाले ग्राहक सदस्यहरुलाई वित्तीय सेवाहरुका साथसाथै ग्राहक सदस्यहरुको क्षमता अभिवृद्धि गराउन तथा ब्यवसायिक रुपमा ब्यवसाय सञ्चालन गर्न सघाउ पु¥याउन विभिन्न किसिमका सीप विकास तालिम सञ्चालन गरी रहेकोछ ।
तालिमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत पौडेलले गरेका थिए । संस्थाले यस आर्थिक वर्षमा संस्थाका आफ्ना ग्राहक सदस्यहरुलाई विभिन्न किसिमका सीप विकास तालिमहरु सञ्चालन गर्दै जाने लक्ष्य रहेको बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत पौडेलले जानकारी गराएका थिए ।
तालिमको पहिलो सत्रमा संस्थाका नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठले सहभागीहरुलाई स्वागत गर्नुका साथै तालिमको उद्देश्य बारेमा प्रकाश पारेका थिए । संस्थाका योजना तथा रिसर्च विभागका विभागीय प्रमुख सूर्य बहादुर बस्नेतले मन्तब्यका क्रममा वर्तमान माहौलमा नकारात्मक कुराहरु, नकारात्मक भ्रमहरु पछि नलागेर कर्जा लिएर कर्जाको अधिकतम सदुपयोग गरी आफ्नो तथा परिवारको उन्नती गर्न हौस्याएका थिए ।
तालिमको अन्त्यमा तालिममा सहभागीहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो । तालिमको सञ्चालन रौतहट जिल्ला स्थित सन्तपुर शाखाका कनिष्ठ सहायक श्री श्रवण कुमार झाले गरेका थिए ।



