प्रतिबन्धित भारतीय रुपैयाँ सटहीका लागि राष्ट्र बैंकले नेपाल सरकारलाई पनि आग्रह गरेको छ । बुधबार अर्थ मन्त्रालयलाई पत्राचार गर्दै राष्ट्र बैंकले कूटनीतिक पहल गरिदिन सरकारलाई आग्रह गरेको हो ।
हाल राष्ट्र बैंक र नेपालका बैंक तथा वित्तीय संस्थामा करिब २ करोड रुपैयाँ बराबरको पाँच सय र हजार दरका नोट रहेको राष्ट्र बैंकले जनाएको छ । भारतले पाँच सय र हजार दरका नोट प्रचलनमा प्रतिबन्ध लगाएपछि बुधबार बिहानै (कार्यालय समयअघि) आकस्मिक रूपमा राष्ट्र बैंक व्यवस्थापन समितिको बैठक बसेको थियो । बैठकमा मंगलबार साँझसम्म बैंक तथा वित्तीय संस्थामा रहेको भारु पाँच सय र हजार दरका नोटको लगत लिने र ती नोट सटहीका लागि भारतीय सरकारसँग कूटनीतिक पहल गर्ने निर्णय भएको थियो । सोही निर्णयबमोजिम राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भारु रिजर्भको विवरण पठाउन निर्देशन दिएको थियो । सोही निर्देशनको आधारमा बुधबार साँझसम्म अधिकांश बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकले विवरण पठाइसकेका छन् । दुई चार वटा बैंकबाट मात्रै विवरण आउन बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ ।
।
नेपाल राष्ट्र बैंकले पनि अहिले भारु पाँच सय र हजार दरका नोट सटहीमा बन्देज लगाएको छ । राष्ट्र बैंकले बुधबार परिपत्रमार्फत बैंक तथा वित्तीय संस्थालाई यस्तो निर्देशन दिएको छ । ‘भारत सरकारले भारु ५ सय र हजार दरका नोट ९ नोभेम्बर २०१६ देखि चलन चल्तीबाट हटाउने भएको हुँदा ती दरका नोटहरू खरिद बिक्री वा सटही नगर्नु नगराउन यो परिपत्र जारी गरिएको छ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।
त्यस्तै, नेपालस्थित भारतीय राजदूतावासले पनि बुधबार विज्ञप्ति जारी गरी पाँच सय र हजार नोटमाथिको प्रतिबन्धबारे स्पष्ट पारेको छ । भारतमा अनौपचारिक अर्थतन्त्रको आकार र नक्कली नोटको बिगबिगी बढ्दै गएकाले भारत सरकारले उक्त निर्णय लिनुपरेको विज्ञप्तिमा उल्लेख छ ।