November 10th, 2016

ट्रम्पका कारण महँगिएको सुन ट्रम्पकै कारण सस्तियो : ५६ हजार आठ सयमा कारोबार

goldबुधबार एकै दिन तोलाको १३ सय रुपैयाँका दरले महँगिएको सुनको भाउ विहिबार ह्वात्तै ओरालो लागेको छ । विहिबार सुनको भाउ तोलामा १४ सय रुपैयाँका दरले घटेको हो । विहीबार छापावल सुन तोलाको ५६ हजार आठ सय रुपैयाँका दरले कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ५६ हजार पाँच सय ५० रुपैयाँका दरले कारोबार भएको छ । यसअघि बुधबार छापावल सुनको कारोबार तोलाको ५८ हजार २ सय रुपैयाँमा भएको थियो भने तेजावी सुनको कारोबार तोलाको ५७ हजार नौ सय ५० रुपैयाँका दरले भएको थियो । 

सुनको भाउ सँगै चाँदी पनि दस रुपैयाँले सस्तिएको छ । महासंघका अनुसार विहिबार चाँदी तोलामा आठ सय ३५ रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औँश ३४ अमेरिकी डलरले घटेको छ । बुधबार बिहान प्रति औँश १३ सय १९ अमेरिकी डलर पुगेको सुनको भाउ साँझ अमेरिकी बजार खुल्ने बित्तिकै प्रति औँश १२ सय ८४ अमेरिकी डलरमा झरेको छ । 

ट्रम्पको भाषणको प्रभाव
अमेरिकी राष्ट्रपतिको चुनावमा डोनाल्ड ट्रम्प विजयी भएपछि उनले दिएको भाषणका कारण सुनको मूल्य ओरालो लागेको विश्लेषण गरिएको छ । ट्रम्पले जितेमा अमेरिकी अर्थतन्त्र ओरालो लाग्ने र सुनको भाउ आकासिने प्रक्षेपण गरिएको थियो । यद्यपि, ट्रम्पले चुनाव जितेसँगै सम्पूर्ण अमेरीकालाई एकिकृत हुन प्रोत्साहित गरेपछि अनुमान विपरीत सुनको भाउ ओरालो लागेको हो । 

मोदीको भाषणको प्रभाव
कालोधन निष्क्रिय पार्न भारु ५०० र १००० का नोट प्रतिबन्ध लगाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणाको असर पनि सुन बजारमा परेको देखिन्छ । सुनमा समेत ठूलो परिमाणमा कालोधन लगानी भएको अनुमान गरिएको छ ।