Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्र बैंकले शेयर बजारमा हस्तक्षेप गर्नु ठिक होइनः पूर्वअर्थमन्त्री खतिवडा

२०८० आश्विन १० गते

बैंकिङ खबर/पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंकले शेयर बजारमा अनावश्यक हस्तक्षेप गर्नु ठिक नभएको बताएका छन् । नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पूर्वअर्थमन्त्री खतिवडाले राष्ट्र बैंकले धितोपत्र बजारमा अनावश्यक हस्तक्षेप गरिरहनु धितोपत्र बजारका लागि राम्रो नभएको बताए । आ–आफ्नो क्षेत्रको काम जिम्मेवारीपूर्वक गर्दा अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई र राष्ट्र बैंकले धितोपत्र बोर्डलाई हस्तक्षेप गर्न आवश्यक नहुने उनको भनाइ छ ।

उनले भने,‘अर्काको अधिकारमा हस्तक्षेप गर्ने कुरामा अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई र राष्ट्र बैंकले धितोपत्र बोर्डलाई गर्नु उपयुक्त होइन । आ–आफ्नो क्षेत्रको काम जिम्मेवारीपूर्वक गरौँ न । न त राष्ट्र बैंकले शेयर बजारमा हस्तक्षेप गर्नुपर्छ ।’

पूर्वअर्थमन्त्री खतिवडाले शेयर बजार ’ओभर करेक्शन’ हुँदा शेयर धितो कर्जामा १५० प्रतिशतको जोखिमभार कायम राख्नु ठिक नभएको बताए । उनले शेयर बजार परिसूचक नेप्से ३२ सय अङ्कमा हुँदा जोखिम भए पनि अहिले ’ओभर करेक्शन’ भएको बताउँदै त्यसले लगानीकर्ताको मनोबल बढ्ने दाबी गरे ।

खतिवडाले धितोपत्र बोर्डको भूमिकामाथि प्रश्न गर्दै शेयर बजारलाई स्थायित्व दिने जिम्मेवारी पाएको धितोपत्र बोर्डले आईपीओको बाढी ल्याउन नहुने बताए । नेप्सेको अवस्था पनि ठिक नभएको उनले बताए । कुनै पनि निकाय आफ्नो जिम्मेवारीबाट भाग्न नहुने र आफ्नो जिम्मेवारी पन्छाएर हल्लाखल्ला गरेर केही नहुने उनको भनाइ छ ।