Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

जग्गा कित्ताकाट खोलेर आर्थिक मन्दी हट्दैनः डा.खतिवडा

२०८० श्रावण ३१ गते

बैंकिङ खबर/पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले जग्गाको कित्ताकाट फुकुवा गरेर अर्थतन्त्रको मन्दी नहट्ने बताएका छन् । नेकपा एमाले उद्योग वाणिज्य तथा आपूर्ति विभागले बुधबार आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था समस्या र समाधान बिषयक कार्यक्रम’मा अर्थविद् खतिवडाले कित्ताकाटका कारण लगानि नरोकिएको तर्क गरेका हुन् ।

‘आर्थिक मन्दीको कुरा कित्ताकाट खोलेर पूरा हुँदैन । निजी क्षेत्रले लगानी गर्ने पैसा पाइनभन्दा घरजग्गामा गएर पैसा पाइँदैन,’ पूर्व गभर्नरसमेत रहेका खतिवडाले भने, ‘होम लोनमा कर्जा जान थलेको छ । अब राष्ट्र बैंक प्रोएक्टिभ हुनुपर्छ । नचाहिने ठाउँमा कर्जा जान दिनु हुँदैन ।’

आर्थिक मन्दीका बीच महँगी बढ्दा समस्या जटिल बन्दै गएको उनले बताए । सरकारले सहज तरिकाले कर तिर्ने व्यवस्था सिर्जना गर्नुपर्ने उनले बताए । ‘कर भुक्तानी जटिल भएकै कारण कालो अर्थतन्त्र नमौलाओस्,’ उनले भने, ‘सरकारले कर प्रशासन ठिक ठाउँमा राख्नुपर्छ ।’

६–६ महिनामा राजस्व अनुसन्धान विभागको हामिक किन फेरिन्छ ? सम्पत्ति शुद्धीकरणमा किन फेरिन्छ ? भन्दै उनले प्रश्न गरे । बैंकले पनि आधार दरभन्दा तल गएर गैरव्यावसायिक रुपमा ऋण दिनु र हाइजम्प गरेर १४ प्रतिशत पुग्नु गलत भएको उनले बताए । यस्तो गतिविधिले लगानी नबढ्न उनको भनाइ छ । सेयर बजारको चिन्ता नेपाल राष्ट्र बैंकले भन्दा पनि धितोपत्र बोर्डले गर्नुपर्ने उनले स्पष्ट पारे ।