August 10th, 2023

निर्धन उत्थान लघुवित्त अमरगढी डडेल्धुराद्वारा बीमा बापतको रकम भुक्तानी

बैंकिङ खबर/२०४९ सालमा स्थापित निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय अमरगढी डडेल्धुराले ग्रामिण कर्जा बिमा बाफतको रकम अमरगढी न.पा.वार्ड नं. ०३ गुजरलेकमा संचालित गुजरलेक महिला समूह सदस्य स्व. कौशिल्ला देवी पल्लेको पति रामी पल्लेलाई भुक्तानी गरेको छ ।

बुधबार अमरगढी न.पा. ०३ वडा कार्यालयको सभाहलमा एक कार्यक्रमकाबीच अमरगढी न.पा. वडा नं.०३ का वडाध्यक्ष तिर्थ बहादुर ऐरको हातबाट मृतक सदस्यकको पति रामी पल्लेलाई ग्रामिण कर्जा बिमा बाफतको रकम रु.६ लाख ५० हजार भुक्तानी गरेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड अमरगढी शाखाका शाखा प्रबन्धक धु्रवराज जोशीले जानकारी दिनुभयो ।

उक्त कार्यक्रमलाई वडा अध्यक्ष तिर्थ बहादुर ऐरले सम्बोधन गर्दे निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले गांऊघरका विपन्न महिला दिदीबहिनीहरुलाई विना धितो सामूहिक जमानिमा उत्पादनमुलक क्षेत्रमा कर्जा लगानी गर्नुका साथै लघुविमा पनि गर्ने गरेकोले समाजमा महिला दिदीबहिनी उद्यमशिल हुंने र उनीहरु आर्थिक रुपमा सबल हुने गरेको र आगामी दिनमा संस्थाको कार्यक्षेत्र विस्तारको लागि आफुले अहम भूमिका खेल्ने प्रतिबद्धता पनि ब्यक्त गर्नुभयो ।

संस्थाले आफना ग्राहक सदस्यहरुलाई आय स्तर बृद्धिका लागि लघुउद्यमशिलता सिप विकास (बाख्रापालन, कुखुरापालन, तरकारी खेती, पशुपालन) तालिम तथा वित्तीय साक्षरता तालिम प्रदान गर्दे आइरहेको छ । साथै गैर आर्थिक कारोबार सामाजिक उत्तरदायित्व अन्र्तगत दिने सेवाहरुमा शिक्षा क्षेत्रमा संस्थामा आबद्ध रहेका सदस्यहरुका गरिब तथा जेहेन्दार छोराछोरीलाई हरेक वर्ष २ जनालाई छात्रबृती प्रदान, घातक रोग लागेका सदस्य तथा एकाघरका परिवारका सदस्यहरुलाई राहत स्वरुप सहयोग, सदस्यहरुलाई सुत्केरी पोषण खर्च, सदस्यहरुलाई दैविक प्रकोप कार्यमा राहत वितरण, संस्थाका प्रमुख कार्यकारी अधिकृतको उद्यमशिलता संदेश, सदस्य तथा सदस्यका पतिको लघु बीमा सम्बन्धी राहत वितरण गर्दे आइरहेको छ ।

संस्थामा ग्रामिण महिला दिदीबहिनीहरुलाई समूहमा आवद्ध गराई लघु कर्जा, लघु बचत, लघु बिमा र रेमिटान्स सेवा दिइरहेको शाखा प्रबन्धक जोशीले बताउनु भयो । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले विगत ३० वर्षदेखि देशभरका ७७ वटै जिल्लामा १८५ शाखा कार्यालय, १० क्षेत्रीय कार्यालय र काठमाडौंमा केन्द्रीय कार्यालय रहि सेवा दिईरहेको छ ।