July 27th, 2023

एनएमबी बैंक लुटपाट प्रकरणः भारतीय नागरिक पक्राउ

बैंकिङ खबर/महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंक लुटपाटमा संलग्न आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार भारतको बिहार राज्यमा पर्ने मधुवनीका २० वर्षीय अजयकुमार साफीलाई पक्राउ गरिएको हो।

उनका अनुसार गत जेठ १६ गते महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकबाट १५ लाख लुटिएको थियो। चार/पाँच जनाको समूहमा आएको नकाबधारी समूहले बैंकका कर्मचारी तथा सेवाग्राहीसमेतलाई कब्जामा लिएर सो रकम लुटेका थिए। त्यसपछि उनीहरु नम्बर नखुलेको मोटरसाइकलमा फरार भएका थिए।

सो घटनामा साफी पनि संलग्न देखिएकाले उनलाई बुधबार साँझ महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित नेपाल-भारत सीमा नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। लुटपाटमा संलग्न अन्य व्यक्तिको पनि पहिचान भइसकेको प्रहरीको भनाइ छ। चाँडै नै उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिने प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए।