July 25th, 2023

मौद्रिक नीति सन्तुलित छः बैंकर्स संघ

बैंकिङ खबर/ नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकले सन्तुलित मौद्रिक नीति लिएको बताएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा बैंकर्स संघका अध्यक्ष सुनिल केसीले राष्ट्र बैंकले सन्तुलित मौद्रिक नीति ल्याएको बताए।

केन्द्रीय बैंकले लिएका नीतिहरुमा स्थायीत्व ल्याउन खोजेको समेत बैंकर्स संघले जनाएको छ । केन्द्रीय बैंकले सिआरआर, एसएलआरलगायतका दरहरु स्थिर राखेर आफ्नो नीतिलाई स्थायीत्व दिन खोजेको जनाएको छ।

राष्ट्र बैंकले साढे ११ प्रतिशत कर्जा विस्तारको लक्ष्य लिएको छ। कर्जा विस्तारको लक्ष्य भने केहि कम भएको धारणा बैंकर्स संघको छ। केन्द्रीय बैंकको लक्ष्य अनुसार आगामी वर्ष ५६५ अर्बको कर्जा विस्तार हुने छ। यसमा पनि केन्द्रीय बैंकले उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी बढाउने उद्देश्य राखेको र यसले यसले रियल इकोनेमिलाई नै सपोर्ट गर्ने संघले जनाएको छ।

यस्तै चालु पूँजी कर्जामा संशोधन गर्ने कुरा गरेकोले यसले निजी क्षेत्रको सामेत माग सम्बोधन भएको बताए। ग्रिन बन्ड, सस्टेनेबल बन्ड, ब्लेन्डेड फाइनान्सलगायतलाई मौद्रिक नीतिले समेट्न नसकेको संघले जनाएको छ। नेपालको लागि यस्ता विषय अत्यावश्यक भए पनि त्यसलाई मौद्रिक नीतिले समेट्न नसकेको संघका अध्यक्ष केसीले बताए। यस्तै बैंकहरुको बढ्दो खराब कर्जालाई पनि मौद्रिक नीतिले समेट्न नसकेको संघले जनाएको छ।

यसैगरी उनले आगामी दिनमा बैंकहरुको ब्याजदर अझै घट्ने देखिएको बताए। केन्द्रिय बैंकको व्यवस्था अनुसार स्प्रेड दर असारमा नै ५ प्रतिशतमा झार्नु परेकोले पनि यसले बैंकहरुको कर्जाको ब्याजदर घटाउने बताए।