July 24th, 2023

नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बन्नेछः अर्थमन्त्री महत

बैंकिङ खबर/अर्थमन्त्री डा.प्रकाशशरण महतले चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने बताएका छन्। बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले सोमबार गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नयाँ मौद्रिक नीतिले लगानीको वातावरण सहज बनाउने दाबी गरे।

आइतबार सार्वजनिक मौद्रिक नीतिमा आफूले भन्दै आएको ब्याजदरमा खुकुलोपनलाई सम्बोधन गरिएको बताउँदै उनले अब निजी क्षेत्रमा लगानी सहज हुने, ब्याजदर घट्दै जाने उल्लेख गरे। उनले वित्त नीति र मौद्रिक नीतिको एउटै लक्ष्य आर्थिक वृद्धि सुनश्चित गर्ने, मूल्यलाई एउटा तहमा राख्ने भएको बताए।

अहिले समग्रमा हेर्दा मूल्यवृद्धि कम भएको दाबी गर्दै अर्थ मन्त्री महतले सरकार विसंगतिलाई चिर्दै समस्याको समाधान खोजेर अघि बढिरहेको बताए।