
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले कर्जा विस्तारको लक्ष्यलाई झनै घटाएको छ। राष्ट्र बैंकले आइतबार जारी गरेको मौद्रिक नीतिमा निजी क्षेत्रतर्फको कर्जा विस्तारको लक्ष्यलाई साढे ११ प्रतिशतमा झारेको छ।
आर्थिक वर्ष २०८०/८१ को नेपाल सरकारको बजेट वक्तव्यले लक्षित गरेबमोजिम ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रतर्फ प्रवाहित गर्ने प्राथमिकता रहेको राष्ट्र बैंकले जनाएको छ।
आर्थिक वर्ष २०८०/८१ मा विस्तृत मुद्राप्रदायक १२.५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ११.५ प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण रहेको छ । राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा भनिएको छ।
चालु आर्थिक वर्षमा वार्षिक बिन्दुगत आधारमा २०८० जेठ मसान्तमा विस्तृत मुद्राप्रदाय १०.९ प्रतिशतले विस्तार भएको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको कुल निक्षेप १२.२ प्रतिशत र निजी क्षेत्रतर्फ प्रवाह गरेको कर्जा ३.० प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० मा विस्तृत मुद्राप्रदायको वृद्धिदर १२.० प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर १२.६ प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको थियो । पुँजीगत खर्च समयमा नै अपेक्षित रुपले हुन नसक्नु, आर्थिक वृद्धिदर न्यून रहनु र तरलतामा आएको संकुचनको फलस्वरुप ब्याजदर वृद्धि भई कर्जा मागमा कमी आउनु जस्ता कारणले आर्थिक वर्ष २०७९/८० मा कर्जा विस्तार कम रहन गएको केन्द्रिय बैंकले जनाएको छ।



