Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कालोसूचीमा पर्ने ऋणीको संख्या बढ्दो, एक वर्षमा दोब्बरले बढी

२०८० श्रावण ४ गते

बैंकिङ खबर/ बैंकवित्तमा ऋण तिर्न नसकेर कालोसूचीमा पर्नेहरुको संख्या बन्दै गएको छ । व्यापारमा आएको मन्दीका कारण बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएर तोकिएको समय तिर्न नसक्दा गत आर्थिक वर्ष २०७९–८० मा मात्रै २९ हजार ८४३ जना कालोसूचीमा परेका छन्। यो संख्या अघिल्लो आर्थिक वर्ष २०७८–७९को तुलनामा १२७ प्रतिशतले बढी हो।

अघिल्लो आर्थिक वर्षमा पनि कालोसूचीमा पर्नेको संख्या १३ हजार १२२ थियो। त्यसो त पछिल्लो ५ वर्षको तथ्यांक हेर्ने हो भने ऋण तिर्न नसकेर कालोसूचीमा पर्नेको संख्या बर्सेनि बढ्दै गएको देखिन्छ।

तथ्यांकअनुसार कालोसूचीमा पर्नेको संख्या आर्थिक वर्षमा २०७५–७६मा १ हजार ९७६ मात्र थियो। आर्थिक वर्ष २०७६–७७ मा यो संख्या बढेर ३ हजार १८१ पुगेको थियो भने २०७७–७८मा यो संख्या बढेर ४ हजार ६२९ पुगेको थियो।

व्यापार–व्यवसायमा देखिएको मन्दीका कारण बैंकहरुको खराब कर्जा बढ्नुका साथै कालोसूचीको अंक पनि बढ्दो छ। चेक अनादरका कारण कालोसूचीमा राखिने थप व्यवस्थाले यो संख्या बर्सेनि बढ्दै गएको देखिन्छ।