Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

रेमिट्यान्स निरन्तर बढ्दै

२०८० असार २५ गते

बैंकिङ खबर/  चालु आर्थिक वर्षमा रेमिट्यान्स निरन्तर बढ्दो क्रममा देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको जेठ महिनाकाे मासिक विवरणमा पनि रेमिट्यान्स २२ प्रतिशतभन्दा धेरैले बढेको छ।

चालु आर्थिक वर्षको जेठसम्ममा कुल ११ खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २२.७ प्रतिशतले धेरै हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले बढेको थियो । जेठ महिनामा मात्रै १ खर्ब ७ अर्ब ३७ करोड रेमिट्यान्स भित्रिएको केन्द्रिय बैंकको तथ्याँकले देखाउँछ। बैशाखसम्ममा १० खर्ब ५ अर्ब रेमिट्यान्स भित्रिएको थियो।

बैशाख महिनामा पनि १ खर्ब १ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। बैशाखको तुलनामा जेठमा रेमिट्यान्स झनै बढेको छ। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.० प्रतिशतले बढेर ८ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४६.६ प्रतिशतले बढेर ४ लाख ५९ हजार ४१५ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ०.५ प्रतिशतले बढेर २ लाख ६० हजार २६२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २०८.३ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २१.९ प्रतिशतले वृद्धि भई १२ खर्ब २९ अर्ब ८२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.८ प्रतिशतले बढेको थियो।