
बैंकिङ खबर/पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले विकास बैंकको संख्या बढाएर लघुवित्त संस्थाहरुलाई फेज आउट गर्न आग्रह गरेका छन् । आइतबार साना किसान लघुवित्त र आरएमडिसी लघवित्तको एकीकृत कारोबार शुरू गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डा. खतिवडाले लघुवित्त संस्थाहरुलाई ‘ख’ वर्गमा स्तरोन्नति गर्नुपर्ने बताए ।
बैंक र लघु वित्तको अवस्था हात्ती र कुखुराको जस्तो भएको भन्दै आगामी दिन लघुवित्तलाई फेजआउट गर्दै जानुपर्ने उनको भनाइ छ । गाउँमा लघुवित्त भनेर कामै गर्न नसक्ने अवस्था भएकाले उनले स्मरण गरे । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन संशोधन गरेर भए पनि लघुवित्तलाई स्तरोन्नति गर्नुपर्ने उनको भनाइ छ ।
त्यसैगरी, लघुवित्तमा लगाईएको क्याप आगामी मौद्रिक नीतिबाट हटाउनुपर्ने पनि खतिवडाले बताए । लघुवित्त क्षेत्रको कर्जा विस्तार गर्नेभन्दा पनि कर्जा उठाउनमा आगामी दिनमा ध्यान दिनुपर्ने खतिवडाले बताए । बैंकले लघुवित्तमा दिने कर्जा बढाउन नहुने पनि खतिवडाले बताए । पूर्वगभर्नरसमेत रहेका खतिवडाले नेपालमा लघुवित्तमार्फत कृषिमा भएको लगानी बालुवामा पानी सरह भएको टिप्पणी गरेका छन् ।


