Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

‘ऋण लिएर तिर्दिन’ भन्ने प्रवृत्ति मौलाएको भन्दै गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० असार २४ गते

बैंकिङ खबर/विभिन्न वाणिज्य बैंकका सिईओहरुले बैंकबाट ‘ऋण लिएर तिर्दिन’ भन्ने प्रवृत्ति मौलाएको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएका छन् । शुक्रबार गृहमन्त्री श्रेष्ठले सबै वाणिज्य बैंकका सीईओहरुलाई हातिवनस्थित निजी निवासमा छलफलका लागि बोलाएका थिए ।

पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको चुनौतीका विषयमा अनौपचारिकरुपमा जानकारी लिने र सरकार छ है भनेर ढाडस दिने उदेश्यले बैंकरहरुलाई रात्रिभोजसहित बोलाइएको थियो ।

छलफलमा बैंकरका तर्फबाट नेपाल बैंकर्स संघका अध्यक्षसमेत रहेका एनएमबि बैंकका सीईओ सुनिल केसीले ब्रिफिङ गरेका थिए । केसीले देशको अर्थतन्त्रमा बैंकिङ क्षेत्रको योगदानबारे विशेष चर्चा गरेका थिए ।

बैंकिङ क्षेत्रले राज्यलाई तिर्ने कर, सिर्जना गरेको रोजगारी र वित्तीय मध्यस्थतामार्फत योगदान अतुलनीय रहेको ब्रिफिङ गरेका थिए । केसीको भनाइपछि गृहमन्त्री श्रेष्ठले बैंकहरुको योगदानको सरकारले उच्च कदर गर्ने बताएका थिए ।त्यस्तै, कृषि क्षेत्रका बारेमा कृषि विकास बैंकका सीईओ गोविन्द गुरुङले ब्रिफिङ गरेका थिए ।

पछिल्लो सयम बैंकको ऋण लिएर तिर्दिन प्रवृत्ति मौलाएको भन्दै सीईओहरुले गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएका थिए । गृहमन्त्री श्रेष्ठले बैंकबाट ऋण लिएर तिर्दिन भन्न नपाइने भन्दै बैंकविरुद्धका अराजक गतिविधि रोक्न र बैंकरलाई सुरक्षाको प्रत्याभूति गराउन सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताए । बैंकरहरुले गृहमन्त्रीसँग राष्ट्र बैंकको मौद्रिक नीति बारे पनि कुरा गरेका थिए ।