Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

‘कसिलो मौद्रिक नीति आवश्यक छैन’

२०८० असार २० गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकलाई पूर्वगभर्नरसमेत रहेका डा. युवराज खतिवडाले कसिलो मौद्रिक नीति आवश्यक नभएको बताएका छन् । अमेरिकी सहयोग नियोग युएसएआइडीले आगामी मौद्रिक नीतिका बारेमा सुझाव संकलन गर्न आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका खतिवडाले बैंक र निजी क्षेत्र दुवैलाई एकै पटक कस्ने नीतिले पनि समस्या भएको बताए । खतिवडाले राष्ट्र बैंकले आफ्ना केही नीतिहरुलाई व्यवहारिक बनाउन सुझाव दिए।

आगामी मौद्रिक नीति चालु वर्षजस्तो कसिलो हुनु नहुने भन्दै एकदमै खुकुलो नीति पनि आवश्यक नभएको उनले बताए। चालु पुँजीको विषय, ऋण नोक्सानी व्यवस्थापन, जोखिम भारित सम्पत्ति, मार्जिनजस्ता विषयमा समस्या भइरहेकाले त्यहाँ सम्बोधन गरेर १५ प्रतिशतको ऋण बिस्तार नीति लिँदा अर्थतन्त्रलाई चलायमान बनाउन सकिने उनले बताए।

बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई पनि उनले व्यवहारिक कर्जा नीति अपनाउन सुझाव दिएका छन्। बैंकहरुले ४ प्रतिशत स्प्रेड वा आधार दरमा २ वा ३ प्रतिशत प्रिमियम भने पनि सबैमा त्यो लागू नगरेको उनले बताए।

खतिवडाले अहिले सेयर बजार र घरजग्गामा केही खुकुलो नीति आवश्यक रहेको बताए। उनले ३२ सयमा सूचक पुग्दासम्म केही नभन्ने तर घट्न थालेपछि यो र त्यो कडाइ गर्दा झन् समस्या भएको बताए।

उनले बजारलाई तरल बनाउन र आर्थिक गतिविधि बढाउन बैंकमा थुप्रिएको पुँजी बाहिर ल्याउनु पर्ने बताए। यसका लागि संस्थापक सेयरधनीसँग भएको १० प्रतिशत सेयर बिक्री गर्ने बाटो खोलिनु पर्ने उनको सुझाव छ। लघुवित्त संस्थाहरुको संख्या घटाउने रणनीति लिन उनले राष्ट्र बैंकलाई सुझाव दिए।