बैंकिङ खबर/बैंकले ऋण तिर्न पत्र पठाएपछि अन्तरिम आदेशको माग गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईं अदालत पुगेका छन्। कुमारी बैंकले प्रसाईंको बी एण्ड सी मेडिकल कलेजको नाममा रहेको ७० करोड र पूर्वाञ्चल क्यान्सर अस्पतालका नाममा रहेको ३० करोड गरी १ अर्ब रुपैयाँ ऋण तत्काल नतिरे असूलीको प्रक्रियामा जाने ताकेता पत्र पठाएपछि प्रसाईं बैंकको उक्त पत्र कार्यान्वयन नगर्न÷नगराउन माग गर्दै उच्च अदालत विराटनगर पुगेका छन् ।
उच्च अदालत विराटनगरको इलाम इजालशले असार ११ गते कुमारी बैंकका नाममा १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । तर, प्रसाईंले माग गरे बमोजिम अन्तरिम आदेश दिन भने अदालतले अस्वीकार गरेको छ । अन्तरिम आदेश दिनु पर्ने वा नपर्ने भन्ने विषयमा छलफलका लागि दुबै पक्षलाई असार २० गते बोलाइएको छ ।
प्रसाईंको पक्षबाट बी एण्ड सीका प्रशासकीय अधिकृत टिकाप्रसाद अधिकारीले रिट दायर गरेका थिए ।
कुमारी बैंकले २०८० वैशाख १ गते ऋण तिर्न ताकेता गर्दै पठाएको पत्र कार्यान्वयन भएमा धितोहरु समेत लिलाममा गइ कालोसूचीमा समावेश गर्ने प्रवल सम्भावना रहेको र उपकरण अभावमा सेवा संचालन गर्न समेत बाधा अवरोध हुने हुँदा उक्त पत्र तत्काल कार्यान्वयन नगर्नु÷नगराउनु भनी प्रसाईंका तर्फबाट अधिकारीले रिटमार्फत अन्तरिम आदेशको माग गरेका थिए । तर अदालतले भने यसलाई अस्वीकार गरेको हो । छलफलका लागि बोलाइएको मितिसम्म ऋण असूलीको कुनै पनि कानूनी प्रकृया अघि नबढाउन अदालतले बैंकलाई आदेश दिएको छ ।