
बैंकिङ खबर/ नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंक र वित्तीय संस्था साहु हुन नहुने भन्दै युवा उद्यमीलाई प्रोत्साहित गर्नुपर्ने बताएका छन् । उद्यमीलाई धितोमा नभएर परियोजना हेरेर ऋण दिनुपर्ने उनको भनाइ छ । नेपाल युवा उद्यमी मञ्च चितवनले आयोजना गरेको अन्तक्र्रियामा उनले भने,‘परियोजना उपयुक्त छ भने ऋण दिनुपर्छ, त्यसको अनुगमन पनि बैंकले गर्नुपर्छ । उद्यमी बिग्रँदा ऊ मात्रै बिग्रीदैँन, बैंक पनि बिग्रन्छ, त्यसैले अनुगमनको दायित्व बैंकको हुनुपर्छ ।’
आफ्नो नेतृत्वको सरकारको पालामा महिला युवा उद्यमीका लागि ३ प्रतिशतमा १५ लाख रुपैयाँसम्म ऋण दिन शुरु गरिएको र त्यसलाई नै निरन्तरता दिनुपर्ने उनको भनाइ छ । उद्यमशीलताले रोजगारी सिर्जना गर्ने भन्दै उनले त्यसका लागि आवश्यक सहयोग सरकारले गर्नुपर्ने बताए ।
‘अव्यावहारिक नीति सरकारले हटाउनुपर्छ, कृषक र उद्यमीलाई पाँच वर्षका लागि होइन १० देखि २० वर्षका लागि ऋण दिनुपर्छ,’ उनले भने । उत्पादन वृद्धि १० प्रतिशतमाथि पुर्याउन सकिने भन्दै उनले सरकारले अनुशासित ढङ्गले काम गरेमा दुई वर्षमा १० प्रतिशत बढाउन सकिने बताए । नेपाल अब रोजगारी नभएर उद्यमशीलताको बाटोमा लाग्नुपर्ने उनको भनाइ छ ।


