Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

आशा र राष्ट्र उत्थानबीचको प्राप्ति प्रक्रियालाई बोर्डद्वारा पूर्वस्वीकृति प्रदान

२०८० असार ११ गते

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्ने प्रक्रियालाई पूर्वस्वीकृति प्रदान गरेको छ। धितोपत्र बोर्डले दुवै लघुवित्तलाई पत्र पठाउँदो प्राप्ति प्रक्रियालाई पूर्वस्वीकृति प्रदान गरिएको जानकारी गराएको हो। यी दुवै लघुवित्तले धितोपत्र बोर्डसँग प्राप्ति प्रक्रियामा पूर्वस्वीकृति मागेका थिए।

यसअघि गत जेठ २३ गते नेपाल राष्ट्र बैंकले आशा र राष्ट्र उत्थान लघुवित्तबीचको प्राप्ति प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो। यी दुवै लघुवित्तबीच गत चैत २९ गते प्राप्ति प्रक्रिया अगाडि बढाउने प्रारम्भिक सम्झौता भएको थियो। दुवै संस्थाका सञ्चालक समितिका अधिकारीहरुबीच प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतापत्र हस्ताक्षर गरेका थिए।

आशा लघुवित्त नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडानम्बर ६ मदानपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न जिल्लामा ५५ वटा शाखामार्फत वित्तीय सेवा दिँदै आएको संस्था हो।

यस्तै राष्ट्र उत्थान लघुवित्तको केन्द्रीय कार्यालय चाहिँ काभ्रेको बनेपा नगरपालिका वडानम्बर १३ साँगामा रहेको छ। यो लघुवित्तको पनि ७ वटै प्रदेशका विभिन्न जिल्लामा १०० वटा शाखा कार्यालय रहेका छन्।

राष्ट्र उत्थानको २६ करोड रुपैयाँ र आशा लघुवित्तको ३३ करोड ३९ लाख रुपैयाँ चुक्तापुँजी रहेको छ। प्राप्ति प्रक्रियालाई स्वीकृत गर्न आशा र राष्ट्र उत्थान लघुवित्त यही असार १६ गते साधारणसभा पनि डाकेका छन्।