
बैंकिङ खबर/आन्तरिक राजश्व विभागले घरजग्गा कारोबारमा ’पुँजीगत लाभकर’ नै अन्तिम कर हुने स्पष्ट पारेको छ । घरजग्गा कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम कर हुने विभागले स्पष्ट पारेको हो ।
नेपाल जग्गा तथा आवास विकास महासंघले आर्थिक विधेयक, २०८० को दफा २९ का विषयमा द्धिविधा भएकोले स्पष्ट गरिदिनका लागि विभागलाई पत्राचार गरेको थियो । विभागले प्राकृतिक व्यक्तिले लगानी गरेको जग्गा तथा घरजग्गा बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको महासंघलाई जानकारी गराएको छ ।
आर्थिक विधेयक, २०८० को दफा २९ मा भनिएको छ, ‘प्राकृतिक व्यक्तिले नियमित व्यवसायको रुपमा धितोपत्र, जग्गा तथा घरजग्गाको कारोबारको आय विवरण तथा कर दाखिला गर्न बाँकी रहेको भए आव ०७६÷७७ देखि ०७८÷७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरी आयकर ऐन, २०५८ बमोजिम लाग्ने करको ५० प्रतिशत रकम ०८० चैत मसान्तभित्र दाखिला गरेमा सोमा लाग्ने बाँकी कर, शुल्क तथा ब्याज मिनाहा हुनेछ ।’ यसरी कर दाखिल गर्ने प्राकृतिक व्यक्तिले सो भन्दा अघिल्ला आर्थिक वर्षहरुको कर, शुल्क र ब्याज मिनाहा गर्ने विधेयकमा उल्लेख छ ।



