
बैंकिङ खबर/ जेठ १५ पछि घरजग्गा कारोबार उल्लेख्य बढेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै कित्ताकाट खुला गर्ने घोषणा गरेको थियो । उक्त घोषणापछि घरजग्गा क्षेत्र कारोबारमा सुधार देखिएको छ । सरकारले गत वैशाख ५ गते जग्गाको कित्ताकाट सहज बनाउने निर्णय गरेको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा जग्गा कित्ताकाट सहज बनाउने निर्णय गरेको थियो ।
भू–उपयोग सम्बन्धि नियमावलीमा पहिलो संशोधन स्वीकृत गर्दै मन्त्रिपरिषद्ले जग्गा कित्ताकाट सहज गर्ने निर्णय गरेको सञ्चार मन्त्री रेखा शर्माले गत वैशाख ५ गते जानकारी दिएकी थिइन् ।
मन्त्रालयले जग्गाको प्रयोजन एकिन गरेर मात्रै कित्ताकाट सहज गर्नु पर्ने निर्णय गरेको थियो । तर, सरकारले जग्गाको कित्ताकाट सहज बनाउने निर्णय भने हालसम्म कार्यान्वयन भने हुन सकेको छैन ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागअनुसार चैतको तुलनामा वैशाखमा कारोबार घटेको थियो । गत चैत महिनामा ४९ हजार घरजग्गा किनबेच भएको थियो । वैशाखमा बढ्नुको साट्टो घटेर देशभरका मालपोत कार्यालयबाट ४२ हजार ४६१ वटा घरजग्गा किनबेच भएको थियो ।
वैशाखको तुलनामा जेठमा कारोबारमा उछाल आएको छ । तथ्याङ्क हेर्दा गत वर्षको जेठ महिनाको तुलनामा यो वर्षको जेठ महिनामा बढी घरजग्गा किनबेच भएको छ ।




