Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

लघुवित्तको योगदान भुल्नु हुँदैन : गभर्नर

२०८० जेष्ठ ३२ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्तको योगदान भुल्न नहुने बताएका छन् । आगामी मौद्रिक नीतिबारे नेपाल व्यवस्थापन संघले बिहीबार आयोजना गरेको छलफलमा बोल्दै गभर्नर अधिकारीले कोही सडकमा आएर कराए भन्दैमा लघुवित्तको योगदान भुल्न नहुने बताए ।

यस्तै उनले लघुवित्तका विषयमा अध्यनन भइरहेको पनि बताए । उनले भने, ‘ऋण लिएर पीडित कोही हुँदैन, ऋण लिने लाभग्राही हो । कोही सडकमा आएर कराउँदैमा त्यसको योगदानलाई भुल्न हुँदैन, हामी यसलाई नियमनमा ल्याउँछौं । ऋण लिएपछि तिर्नुपर्छ । ऋण लिएर कोही कमजोर हुँदैन ।’

उनले कोभिड–१९ महामारीका बेला खुला मौद्रिक नीति आएको बताए । आर्थिक पुनरुत्थानका लागि सरकारसँग कम स्रोत भएका बेला खुकुलो मौद्रिक नीति आएको उनको भनाइ छ ।
सो बेला निजी क्षेत्रमा कर्जाको रि–पेमेन्टका लागि गाह्रो अवस्था रहेको र चालुपूँजीको चेन ब्रेक भएको बताए । सोही अनुसार थप चालुपूँजी र कर्जा पुनर्संरचना गर्नुपर्ने अवस्था आएको भन्दै उनले सोही अनुसार पुनर्कर्जा दिएको बताए । अहिले पनि त्यही सुविधाको आकांक्षा दखिएको उनले बताए ।

केन्द्रीय बैंकको पहिलो दायित्व मुद्रास्फीति नियन्त्रण, बाह्य क्षेत्र स्थायित्व र वित्तीय स्थायित्व रहेको उनले बताए । त्यसपछि सरकारका कार्यक्रममा सहयोग गर्ने उनको भनाइ छ । मुख्य जिम्मेवारीलाई सम्झौता गर्ने गरी अन्य कुरामा केन्द्रीय बैंक केन्द्रित नहुने उनले बताए । सोही अनुसार मौद्रिक नीति आउने उनले बताए ।
सरकारको आन्तरिक ऋण नवीकरण नहुने हो भने यो वर्ष उठाउने खुद आन्तरिक ऋण ठूलो नभएको र यसले दबाब नहुने गभर्नर अधिकारीले बताए ।