
बैंकिङ खबर/अर्थ समितिको बैठकमा बैंकविरुद्धको बहस चलेको छ । सोमबार धितोपत्र बोर्डले वितरण गर्न लागेको नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रियाबारे छलफल गर्न बैठक बसेपनि छलफल बैंकविरुद्ध मोडिएको थियो ।
बैठकमा सांसद ज्ञानेन्द्र शाहीले बैंकहरुमा २९ खर्ब ६९ अर्ब रुपैयाँ फिक्सड डिपोजिट रहेको बताए । उनले भने, ‘यो फिक्सड डिपोजिट राम्रो होइन । पैसा चलाउनुपर्छ, बैंकमा राखेर ब्याज खाने होइन ।’
यस्तै उनले संसारमा कुनै पनि देशमा सरकारी निकायले बैंकमा फिक्सड डिपोजिटमा पैसा नराख्ने भएपनि नेपालका सरकारी निकायले राख्ने गरेको समेत बताए ।
यसबाहेक, नेपालका बैंकहरुले ऋणीको सम्पत्तिको मूल्यांकन घटाएर जग्गा नै हडप्ने गरेको समेत शाहीको भनाई छ ।
सांसद पूर्ण बहादुर तामाङले बैंकहरुले ३ खर्ब रुपैयाँ बोकेर बसेको र इमानदार मान्छे भेट्यो भने निजी बैंकले राती १२ बजे कागज गरेर ऋण लगानी गरिरहेको बताए ।
‘बैंकहरु जनता लुटेर धनी बनिरहेको छ । ८ प्रतिशत ब्याजमा लगानी गरेर त्यसलाई १४ प्रतिशतसम्म ब्याज पुर्याइरहेका छन् ।’ यस्तै, बैंकले एकलौटी ढंगले मर्जर प्रक्रिया अघि बढाएर देशभर १३२ वटासम्म शाखा खोलेका छन् ।
‘उनीहरुलाई कति वटा शाखा छन् भनेर सोध्यो भने ११२ पुग्यो र १३२ पुग्यो भन्छन्,’ तामाङ भने‘त्यतिधेरै शाखा खोल्नुको मुख्य लक्ष्य नै लुट्ने हो । देशभर एकलौटी गरेर लुट्ने नीतिमा बैंक अघि बढेका छन् ।’ यो विषयमा समितिको आगामी बैठकमा राष्ट्र बैंकका गभर्नरलाई नै बोलाएर सोधपुछ गर्नुपर्ने उनको भनाई छ ।




