
बैंकिङ खबर/ घरजग्गा व्यवसायीहरुले घर जग्गा धितोमा कर्जा सीमा ७० प्रतिशत पुर्याउन माग गरेका छन् । बिहीबार नेपाल जग्गा तथा आवास विकास महासंघ (एनएचएलडीएफ) का पदाधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भएको भेटमा महासंघले यस्तो माग गरेको हो ।
आगामी मौद्रिक नीतिको सुझाव पेश गर्दै महासंघले घरजग्गा व्यवसायीहरुले वर्तमान अवस्थामा रियल इस्टेट सेक्टरले भोगिरहेको समस्या समाधानका लागि पहल गर्न गभर्नर अधिकारीसँग माग गरेका हुन् । महासंघका अध्यक्ष भेषराज लोहनी नेतृत्वको टोलीले गभर्नर अधिकारीलाई ‘लोन टु भ्यालु रेसियो’ रियल इस्टेट कम्पनीहरुलाई ७० प्रतिशत पुर्याउन आग्रह गरे । व्यवसायीको मागबारे राष्ट्र बैंकले भने उद्देश्य खुलेकाहरुको हकमा ‘लोन टु भ्यालु रेसियो’ ६० प्रतिशत नै भएको प्रष्ट्याएको थियो ।
महासंघ टोलीले किस्ताबन्दीमा घरजग्गा किन्नेहरुको किस्ता मूल्याङ्कन मौद्रीक नीतिमा नबढाइदिन समेत गभर्नर अधिकारीको ध्यानाकर्षण गराए । महासंघले घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्दा कायम जोखिम भार १५० प्रतिशतलाई घटाएर १०० प्रतिशत कायम गर्न पनि राष्ट्र बैंकसँग आग्रह गरेको छ ।



