Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा कम्पनीहरुको लाभांश वितरणमा कडाई

२०८० जेष्ठ २५ गते

बैंकिङ खबर/ नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको लाभांश वितरणमा कडाई गरेको छ । समितिले बीमा विनियमावली २०८० तयार गरेर कडाइ गरेको हो । प्राधिकरणले तयार पारेको बीमा विनियमावली २०८० को मस्यौदामा अब बीमा कम्पनीहरुले प्रत्येक आर्थिक वर्षको लागि लाभांश घोषणा गर्नुअघि प्राधिकरणलले निर्धारण गरेका कागजात तथा विवरणहरु पेश गर्नुपर्नेछ ।

बीमकले ऐनको दफा ४३ बमोजिम लाभांश घोषणा गर्नुअघि ऐनको दफा १०१ बमोजिम बीमक समस्याग्रस्त घोषणा नभएको, ऐनको दफा ४३ को उपदफा (१) को अवस्था विद्यमान नरहेको, प्राधिकरणले बीमकको व्यवसाय आंशिक वा पूर्ण रुपमा रोक नलगाएको हुनुपर्नेछ ।

साथै ऐनको दफा ३६, ३८, ३९, ४०, ४१ र ४२ को व्यवस्था पूर्ण रुपमा पालना गरेको, व्यवस्थापनबाट प्रमाणित गरिएको वित्तीय विवरण, बाह्य लेखापरीक्षकको व्यवस्थापन प्रतिवेदन र सो सम्बन्धमा बीमकले पेश गरेको जवाफ र प्राधिकरणले निर्धारण गरेका अन्य कागजात तथा विवरणहरु पेश गर्नुपर्नेछ ।

साथै छलफल गर्न आवश्यक परेमा प्राधिकरणले बीमकका संचालक, कार्यकारी प्रमुख, कर्मचारी, लेखापरीक्षक वा सम्बन्धीत कुनैपनि व्यक्ति वा संस्थालाई बोलाउन सक्नेछ, र त्यसरी बोलाएको बखत प्राधिकरणमा उपस्थित हुनु निजको कर्तब्य हुनेछ । त्यस्तै, बीमकले पेश गरेका कागजात तथा विवरण जाँच गरी प्राधिकरणले लाभांश घोषणा नगर्न निर्देशन दिन वा शर्तसहित लाभांश घोषणा गर्न स्वीकृति दिन सक्ने मस्यौदामा उल्लेख छ । यसका साथै बीमकको वितरणयोग्य मुनाफासम्बन्धी अन्य व्यवस्था प्राधिकरणले निर्धारण गरेबमोजिम हुनेछ ।