Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

विदेशी पुनर्बिमा र दलाल कम्पनी नेपालमा सूचीकृत हुनुपर्ने

२०८० जेष्ठ २२ गते

बैंकिङ खबर/अब नेपालमा व्यवसाय गर्न आउने विदेशी पुनर्बिमा कम्पनी र पुनर्बिमा दलाल कम्पनी नेपाल बीमा प्राधिकरणमा सूचीकृत हुनुपर्ने भएको छ । प्राधिकरणले बिमकको पुनर्बिमा निर्देशिका संशोधन गर्दै यस्तो प्रावधान राखेको हो ।

रीतपूर्वक निवेदन दिएका कम्पनीलाई प्राधिकरणले सूचीकृत गरी सूचीकरण नम्बर प्रदान गर्नेछ । यो नम्बर प्रत्येक वर्ष प्राधिकरणबाट नवीकरण गर्नुपर्नेछ ।

सूचीकरण नम्बर प्राप्त गर्ने पुनर्बिमा दलालले चालू आर्थिक वर्ष ०७९/८० सकिएको ६ महिनाभित्र नेपालमा संयुक्त लगानीमा कम्पनी वा शाखा कार्यालय स्थापना गर्नुपर्ने प्राधिकरणले व्यवस्था गरेको छ ।

नेपालका बीमा र पुनर्बिमा कम्पनीले यसरी सूचीकरण भएका कम्पनी र दलाल कम्पनीसँग मात्रै कारोबार गर्नुपर्ने प्रावधान राखिएको छ । नेपाली कम्पनीले विदेशी पुनर्बिमा कम्पनीसँग गरिएको कारोबारको तथ्यांक राख्न यस्तो व्यवस्था गरिएको प्राधिकरणका प्रवक्ता एवं कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

कम्पनीहरूलाई अधिकांश बिमाको शतप्रतिशत पुनर्बिमा नेपालकै बिमा कम्पनीमा गर्न बाध्य पारेको छ । प्राधिकरणले निर्देशिका संशोधन गर्दै जीवन बिमा, मोटर, कृषि, पशुपक्षी तथा जडीबुटी, हुलदंगा–आतंकवाद तथा विविध बीमाको स्वदेशमा नै शतप्रतिशत पुनर्बिमा गर्नुपर्ने निर्देशिकामा व्यवस्था गरेको छ ।

सो बीमालाई नेपाली पुनर्बिमा कम्पनीले अस्वीकार गर्न नपाउने व्यवस्था गरेको छ । तर, यात्रा, ट्रेकिङ तथा स्वास्थ्य बीमालाई भने छुट दिएको छ ।