नेपाल राष्ट्र बैंकले पूर्वाधार लगानीका लागि २० अर्ब रुपैयाँ चुक्ता पुँजी बनाएर पूर्वाधार विकास बैंक खोल्ने नीति ल्याएसँगै यसमा विभिन्न समुहहरु सहभागि हुन थालेका छन् । डा.चिरंजीबि नेपाल गभर्नर भएको पहिलो बर्षकै मौद्रीक नीतिमा पूर्वाधार विकास बैंक खोल्ने औल्याईएको थियो । मुलुकको विकासका लागि पूर्वाधारको अभाव भएकाले देश पछि परेको सन्दर्भमा यो नीति आएको हो । हाल पूर्वाधार विकास बैंकको तयारी भइरहेका बेला इमर्जीङ नेपालले विभिन्न कर्पोरेट कम्पनिहरुलाई आबद्ध गराएर तयारी अघि बढाएको छ । सडक, विजुली, पानी, सिचाई लगायतका पूर्वाधारहरु प्रयाप्त नहुँदा विकासको गति अत्यन्तै सुस्त भएको छ । पूर्वाधार विकास बैंकमा लगानी गर्नका लागि ठुला बैंकिङ ग्रुप तथा अन्य कर्पोरेट समुहहरु उत्सुक छन् ।
‘६ महिनाभित्र पूर्वाधार विकास बैंकको स्थापना गर्न सक्छौँ’
विनोद आत्रेय प्रमुख कार्यकारी अधिकृत, इमर्जिङ नेपाल,
इमर्जिङ नेपाल लिमिटेड कस्तो संस्था हो ?
यो संस्था सर्वसाधरणको समेत लगानी रहेको एउटा ‘इन्भेष्टमेन्ट कम्पनी’ हो । यसको मुख्य उद्देश्य नेपालको पूर्वधार विकास गर्नमा सरकारलाई सहयोग पुर्याउने हो । विकासका पूर्वाधार विकास गर्नका लागि विभिन्न आवश्यकताहरु हुन्छन् । तर सरकार र निजी क्षेत्रको बुद्धि–विवेकलाई तालमेल मिलाएर उपयोग गर्न सक्ने हो भने नेपालमा विकास छिटो गर्न सकिन्छ भन्ने आशयका साथ यो कम्पनीको स्थापना भएको हो । निजी क्षेत्रको ज्ञान, सीप र अनुभवलाई एकीकृत रुपमा लगेर सरकारले सुरु गरेको पूर्वाधार विकासका योजनाहरुमा लगाउन सक्ने हो भने समृद्धिका लागि गरिने कार्याक्रमहरु प्रभावकारी रुपमा अगाडी बढाउन सकिन्छ भन्ने आशय पनि यो संस्था स्थापना हुनुको एउटा कारण हो ।
नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंक भनेर योजना अघि सारेको छ, यसको स्थापनाको लागि इमर्जिङ नेपालको लगानी वा साझेदारी पनि छ भनिन्छ नि ?
एउटा लक्ष्य हो । अस्ति भर्खरै हामीले क्रेडिट रेटिङ एजेन्सी स्थापना गर्ने भनेर प्रतिवद्दता जनाईसकेको अवस्था छ । केयर इन्डियासँग हामीले सम्झौता गरिसकेका छौँ । अनुमतिका लागि धितोपत्र बोर्डमा हामीले निवेदन गरेका छौँ । इमर्जिङ नेपालको नेतृत्वदायी भूमिकामा विशाल ग्रुप, विभिन्न बैंक तथा वित्तीय संस्था र केयर नेपालको संयुक्त लगानीमा क्रेडिट रेटिङ एजेन्सी स्थापना गर्ने भनेर एउटा कामको सुरुवात भएको छ ।
राष्ट्र बैंकले पुर्वाधार विकास बैंक स्थापना गर्ने भनेपछि इमर्जिङ नेपालको स्थापना हुनु एउटा संयोगमात्र हो वा केन्द्रीय बैंकको योजनामा इमर्जिङ नेपालको कुनै विशेष भूमिका रहन्छ ?
पुर्वाधार विकास बैंक स्थापना गर्ने भनेर राष्ट्र बैंकले पहिले नै परिकल्पना गरेको हो । यहाँहरुलाई पनि अवगत नै छ, बजेटमा पनि पब्लिक–प्राइभेट पार्टनरशीपअन्तर्गत पूर्वाधार विकास बैंक स्थापना गर्ने भन्ने योजना आएको हो । पूर्वाधार विकास बैंक स्थापना गर्ने सरकारको योजनालाई अघि बढाउनु वा त्यसलाई पूर्णता दिनु इमर्जिङ नेपालको दायित्व हो । त्यसैले हामीले पूर्वाधार विकास बैंक स्थापना गर्ने सरकारको योजनालाई अघि बढाउँछौँ । २० अरबको पुँजी भएको कम्पनीमा, अहिले विदेशी लगानीकर्ताहरुको पनि आशय गरिएको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाहरु, प्राइभेट ग्रुपहरु छन् । नेपाल सरकारले पनि लगानी गर्ने भन्ने कुरा छ । अहिले यो अवधारणात्मक प्रक्रियामा छ । यसलाई व्यवहारतः कार्यान्वयनमा लैजाने काम चाहिँ यो इमर्जिङ नेपालले गर्छ ।
कति समयभित्र पूर्वाधार विकास बैंक स्थापनाको अवधारणा कार्यान्वयनमा आउला त ?
नेपाल सरकार र नेपाल राष्ट्र बैंक तयार भएको अवस्थामा हामीले ६ महिनाभित्र पूर्वाधार विकास बैंकको स्थापना गर्न सक्छौँ । नेपाल सरकार र स्वयम् राष्ट्र बैंकसँगै पनि तत्कालै निर्णय लिन केही जटिलताहरु होलान् । तर नेपालको विकासको गतिलाई तिब्रता दिने हो भने नेपालमा पूर्वाधारको विकास हुन अत्यन्तै जरुरी छ । त्यसका लागि चाँडोभन्दा चाँडो पूर्वाधार विकास बैंकको स्थापना हुनुपर्छ ।
अहिले बैंक तथा वित्तीय संस्थाहरुले पनि पूर्वाधार विकासमा लगानी गरिरहेका छन् नि ? ती प्रभावकारी छैनन् ?
बैंक तथा वित्तीय संस्थाहरुले लङ्टर्म फाइनान्सिङ गर्दैनन् । दुईतीन वर्षको फाइनान्सिङबाट पूर्वाधार विकास हुन सक्दैन । विगतमा एनआइडीसी थियो, त्यो पनि एउटा कमर्सियल बैंकको रुपमा आयो । त्यसैले लामो समयसम्म फाइनान्सिङ गर्ने बैंक तथा वित्तीय संस्था नभएका कारण पूर्वाधार विकास बैंक स्थापना गर्न जरुरी छ ।
पूर्वाधार विकास बैंक स्थापना भईसकेपछि मुलुकलाई त्यसले कस्तो फाइदा पुर्याउँछ ?
अहिलेको लागि पूर्वाधार विकास बैंक भनेको एउटा अवधारणा हो । भोलिका दिनमा यो कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने कुरा भविष्यले बताउँछ । तर अहिलेको अवधारणालाई नै व्याख्या गर्ने हो भने, अहिले हामीले २० अर्बको पुँजी हुने कुरा गरिरहका छौँ । भोलिका दिन विदेशी लगानीकर्ताहरु सहभागीका रुपमा यसमा आउँछन् । त्यसपछि लोकल लगानीकर्ताहरु पनि यसमा सहभागी हुन्छन् । अन्तर्राष्ट्रिय अभ्यासलाई नियाल्ने हो भने रुवाण्डामा पूर्वाधार विकास बैंक स्थापना भएर त्यसले उर्जा, यातायातलगायतका पूर्वाधार विकासमा काम गरिरहेको छ । नेपालमा पनि अहिले त्यस्तै बैंकको अवधारणा आएको हो । मलाई लाग्छ, यो असफल हुँदैन, यदी यो अवधारणा कार्यान्वयनमा आयो र पूर्वाधार विकास बैंक स्थापना भयो भने यसले सडक, उर्जा, शिक्षा, स्वास्थ्यलगायतका पूर्वाधार विकास गर्नु यसको प्राथमिकता हुन सक्छ ।
१२ वर्षसम्मको शसस्त्र युद्धबाट मुक्त भएपनि देश अझै राजनीतिक संक्रमणबाट मुक्त हुन सकेको छैन । तपाईको विचारमा यो परिस्थितिमा मुलुकको विकास कत्तिको प्रभावित भएको छ ?
देश विकासका लागि राजनीतिक स्थायित्व अत्यन्तै महत्वपूर्ण कुरा हो । किनकी राजनीतिक स्थायित्व भएमात्रै देशका नीति नियमहरु स्थायी हुन सक्छन्, ती प्रभावकारी हुन सक्छन् । नेपालमा अहिलेसम्म भईरहेका राजनीतिक अभ्यासले विकासलाई अलि बढी नै प्रभावित बनाएको पाइन्छ । किनभने एउटा सरकारले बनाएको नीति नियम र योजनाहरु अर्को सरकारले फेरबदल गरिदिने परिपाटी छ जसको कारण विकास प्रभावित हुन पुग्छ । राजनीति संक्रमणकै कारण विदेशी लगानीकर्ताहरु नेपाल आउन सकिरहेका छैनन् भनेर हामीले पटक–पटक सरकारको ध्यानाकर्षण पनि गराइरहेका छौँ । यदी विदेशी लगानीकर्तालाई हामीले आकर्षित गर्ने हो भने पहिलो कुरा राजनीतिक स्थायित्व कायम हुनुपर्छ । त्यसपछि बनाईएका नीति नियमहरु पनि स्थायी हुनुपर्छ । र, उनीहरुलाई लगानीका लागि नेपाल आउने वातावरण हामीले बनाइदिनुपर्छ ।
तपाई त लघुवित्त महाशाखाको प्रमुख भएर काम गरिसक्नुभएको व्यक्ति, अहिले पनि दर्जनौँ लघुवित्तहरु गाउँ पुगेर ग्रामिण विकासमा खटिरहेका छन् भनिन्छ, तर पनि गाउँको विकास भएको देखिदैन र युवाहरु विदेशिने क्रम त रोकिए न नि ?
लघुवित्त संस्थाहरुले ग्रामिण विकासको क्षेत्रमा राम्रै काम गरिरहेका छन् । हरेक कार्यक्रमका चुनौती हुन्छन् । यहाँ पनि केही चुनौतीहरु होलान् । त्यसको व्यवस्थापनको लागि राष्ट्र बैंकले विभिन्न नीति नियम बनाएर प्रयास गरिरहेको देख्न पाइन्छ । लघुवित्त कार्याक्रमहरुलाई गाउँमा प्रभावकारी बनाउन विकट क्षेत्रमा वित्तीय साक्षरताप्रति जोड दिनुपर्छ । बैंक तथा वित्तीय संस्थाको पहुँचभन्दा बाहिर रहेका क्षेत्रमा बैक वा वित्तीय संस्था स्थापना गरिनुपर्छ ।
पैसाको अभावले हामीकहाँ विकास नभएको हो ?
पैसाको अभावले हाम्रो विकास रोकिएको पक्कै होइन । यहाँ नीति, नियम, कार्यान्वयन प्रणालीदेखि बुद्धि, विवेक, सीप, क्षमतालगायतका कुराले प्रभाव पारेका छन् ।