
बैंकिङ खबर/व्यवसाय विस्तार गर्न अप्ठेरो परेका बैंकहरूलाई हकप्रद सेयर निष्कासनको मौका दिनुपर्ने नेपाल बैंकर्स संघले माग गरेको छ। हाल नेपालमा २१ वटा वाणिज्य बैंक सञ्चालनमा रहेकोमा ४ वटा वाणिज्य बैंकको पुँजीकोष (क्यापिटल एडेकुसी) कसिलो स्थितिमा छ ।
पुँजीकोष कसिलो हुँदा व्यवसाय विस्तार गर्नै अप्ठेरो पर्न थालेपछि हकप्रद सेयर निष्कासनका लागि बैंकर्स संघ लबिङमा उत्रिएको हो । नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले केही बैंक अप्ठयारोमा परेकाले उनीहरूलाई सहज गराउन केन्द्रीय बैंकले केही न केही बाटो खोलिदिनुपर्ने बताए ।
पहिलो औजारका रूपमा हकप्रदलाई प्राथमिकता दिएका उनले बताए । अन्य विकल्पमा विभिन्न प्रकृतिमा ऋणपत्र जारी गर्न दिएर पनि पुँजीकोष सहजताको स्थिति ल्याउनुपर्ने संघको माग छ।