Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

वित्तीय तथा बीमा क्षेत्रको वृद्धि ७.२९ प्रतिशत हुने प्रक्षेपण

२०८० जेष्ठ १० गते

बैंकिङ खबर/ राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा वित्तीय तथा बीमा क्षेत्रको वृद्धि ७.२९ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।गत आर्थिक वर्षको तुलनामा यो प्रक्षेपण ०.४१ प्रतिशत विन्दुले बढी हो ।

गत आर्थिक वर्षमा यस क्षेत्रको वृद्धिदर ६.८८ प्रतिशत हुने संशोधित अनुमान छ । चालु आर्थिक वर्षमा म्यानुफ्याक्चरिङ, निर्माण, व्यापारलगायत क्षेत्रको वृद्धिदर ऋणात्मक र अन्य क्षेत्रको वृद्धिदर भने कमी हुने अनुमान भइरहेको छ ।

चालु आर्थिक वर्षमा बीमा शुल्क उल्लेख्य रूपमा बढेको र बैंक तथा वित्तीय संस्थामा ब्याजदर (निक्षेप र कर्जा दुवै) पनि बढेका कारण वित्तीय तथा बीमा क्षेत्रको वृद्धिदरमा सुधार देखिएको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ईश्वरीप्रसाद भण्डारीले बताए ।

कोभिडका कारण गरिएको लकडाउनका कारण अघिल्ला दुई आर्थिक वर्षमा वित्तीय र बीमा क्षेत्रको वृद्धिदर खुम्चिएको थियो । कोभिडको जोखिम कम भएपछि मुलुकमा आर्थिक गतिविधि बढेका छन् ।

यसले बैंकिङ र बीमा क्षेत्रमा पनि सकारात्मक प्रभाव परेकाले चालु आर्थिक वर्षमा यस क्षेत्रको वृद्धिदरमा सुधार देखिएको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको बाँकी तीन महिनाको पनि सम्भावित गतिविधिका आधारमा विभागले यस्तो प्रक्षेपण गरेको हो ।

नेपालमा बीमा पहुँच करिब साढे ४४ प्रतिशत पुगेको नेपाल बीमा प्राधिकरणको तथ्यांक छ । पछिल्ला वर्षमा तीव्र रुपमा बीमा सेवाको विस्तार बढेकाले समग्र बिमा पहुँचमा पनि वृद्धि भएको प्राधिकरणको मासिक तथ्यांकले देखाएको छ । प्राधिकरणका अनुसार गत चैतसम्म मुलुकको कुल जनसंख्याको करिब साढे ५५ प्रतिशत नागरिक बीमाको पहुँचबाहिर छन् ।