Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

काठमाडौंमा ५ हजार बढी बैंकिङ कसुरका मुद्दा: सबैभन्दा बढी चेक बाउन्स

२०८० जेष्ठ ९ गते

बैंकिङ खबर/काठमाडौंमा बैंकिङ कसुर र आर्थिक अपराधमा घटना बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चालु आर्थिक वर्षमा काठमाडौंमा आर्थिक अपराध र बैंकिङ कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता भएका हुन् ।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले चालु आवमा काठमाडौंमा दर्ता भएका ९ हजार दुई सय ५६ मुद्दामध्ये आधाभन्दा बढी ५ हजार ३१२ मुद्दा बैंकिङ कसुर र आर्थिक अपराधका रहेको जानकारी दिए । उनले पछिल्लो समय बैंकिङ कसुर र आर्थिक अपराधअन्तर्गत ‘चेक बाउन्स’, डलर साटिदिन्छु, चिठ्ठा पारिदिन्छु, राम्रो रोजगारीमा विदेश पठाइदिन्छु भनी आर्थिक ठगी गर्ने प्रवृत्ति बढेको बताए ।

परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले दैनिक बैंकिङ कसुर र आर्थिक अपराधसम्बन्धी ३५ देखि ४० मुद्दा परिसरमा दर्ता हुने गरेको बताए । पछिल्लो समय काठमाडौंमा बैंकिङ कसुर र संगठित तथा आर्थिक अपराधका घटनामा वृद्धि भएको उनको भनाइ छ ।

परिसरका अनुसार बैंकिङ कसुर र आर्थिक अपराधबाहेक चालु आवमा अभद्र व्यवहारसम्बन्धी दुई हजार आठ, विविध अपराध पाँच सय ७५, चोरीसम्बन्धी कसुर चार सय ४५, लागुऔषध दुई सय ६७, महिला तथा बालबालिकासम्बन्धी कसुर दुई सय ५७, आत्महत्यासम्बन्धी कसुर दुई सय ३१, सवारी ज्यान तथा अङ्गभङ्गसम्बन्धी कसुर एक सय ४१ र कर्तव्य ज्यानमा २० मुद्दा दर्ता भएका छन् । परिसरमा गत आवमा बैंकिङ कसुर तथा आर्थिक अपराधसम्बन्धी कसुरमा ४ हजार तीन सय ४३ मुद्दा दर्ता भएका थिए ।

 

Ad