
बैंकिङ खबर/ पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको ऋण नतिरेर कालोसूचीमा पर्ने व्यक्ति तथा कम्पनीको (ऋणी) संख्या ह्वातै बढेको छ ।
चालु आर्थिक वर्षको १० महिनाको तथ्यांक अनुसार दैनिक औषत ७४ व्यक्ति, कम्पनी वा संस्था कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका छन् । साउनदेखि वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्ने र चेक बाउन्स हुने २२ हजार ३७४ कालोसूचीमा परेका छन् ।
१० महिनाको संख्या हालसम्म कालोसूचीमा पर्ने कुल संख्याको ८१.४१ प्रतिशतले बढेको हो । अर्थात्, चालु आवमा कालोसूचीमा पर्नेको संख्या झन्डै दोब्बर हुने सम्भावना देखिएको छ ।
०७९ असार मसान्तसम्म कालोसूचीमा पर्नेको कुल संख्या २७ हजार ४७६ रहेको थियो । चालु आवको १० महिनामा कालोसूचीमा पर्नेको संख्या ८१.४१ प्रतिशतले बढेर ४९ हजार ८५० पुगेको कर्जा सूचना केन्द्रले जनाएको छ ।
पछिल्लो समय कालोसूचीमा पर्नेहरुमध्ये करिव ७०/७५ प्रतिशत चेक बाउन्स हुनेहरु रहेको केन्द्रको भनाइ छ । आर्थिक वर्ष ०७५/७६ को पहिलो १० महिनामा (साउन–वैशाख) कर्जा सूचना केन्द्रको कालोसूचीमा पर्ने व्यक्ति तथा कम्पनी १ हजार ३९० रहेका थिए । यो संख्या बढेर आव ०७६/७७ मा २ हजार ७७९ पुगेको देखिन्छ ।
०७६ चैतदेखि कोभिड महामारीका कारण नेपालमा लकडाउन शुरु भयो । उक्त आर्थिक वर्ष ०७७/७८ को पहिलो १० महिनामा ३ हजार ९५७ व्यक्ति तथा कम्पनी कालोसूचीमा परेको तथ्यांक छ ।
आव ०७८/७९ मा ८ हजार ७७९ कालोसूचीमा परे, जुन अघिल्लो आवको तुलनामा दोब्बरभन्दा बढी हो । कोभिडपछि चरम महामन्दी छाउँदा ०७९/८० को पहिलो १० महिनामा कालोसूचीमा पर्नेको संख्या बढेर २२ हजार ३७४ पुगेको छ ।




