May 22nd, 2023

लघुवित्तको निष्क्रिय कर्जा बढ्दो

बैंकिङ खबर/चालू आर्थिक वर्ष ०७९/८० को तेस्रो त्रैमाससम्म लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा बढेको छ । ५५ लघुवित्त वित्तीय संस्थाहरूको औसत निष्क्रिय कर्जाको अनुपात ७.०७ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो अनुपात ३.०४ प्रतिशत मात्रै थियो ।

लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले ऋणीहरूबाट कर्जा असुली गर्ने वातावरण नहुँदा निष्क्रिय कर्जा चुलिएको बताए ।
असल ग्राहक पनि आर्थिक शिथिलताका कर्जा तिर्न नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ ।

०७९ पुस मसान्तसम्ममा खुद्रा कर्जाप्रदायक लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जाको ४.६८ प्रतिशत पुगेको थियो । गत असार मसान्तमा २.५६ प्रतिशत रहेको निष्क्रिय कर्जा चालू आर्थिक वर्षको तेस्रो त्रैमासमै आउँदा वृद्धि भएको हो ।

गत असार मसान्तमा १० अर्ब चार करोड रहेको निष्क्रिय कर्जा ०७९ पुस मसान्तमा १८ अर्ब ३४ करोड पुगेको छ । जबकि ०७८ असार मसान्तमा १० अर्ब ६२ करोड नोक्सानी व्यवस्था गरेका लघुवित्तले पुस मसान्तमा १४ अर्ब ४० करोड रुपैयाँ नोक्सानी व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ ।

गत असारसम्म ६५ वटा लघुवित्त वित्तीय संस्था रहेकामा ०७९ पुससम्म घटेर ६४ वटा कायम भएका छन् । ६४ वटा लघुवित्त वित्तीय संस्थाहरूमध्ये चारवटा थोक कर्जाप्रदायक संस्था छन् । बाँकी ६० वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्था छन् ।

तेस्रो त्रैमाससम्म ५५ लघुवित्तहरूको वित्तीय विवरणअनुसार ११ संस्थाहरूको निष्क्रिय कर्जाको अनुपात १० प्रतिशतभन्दा बढी छ । युनिक नेपाल, आरम्भ चौतारी, जनउत्थान सामुदायिक, मनकामना स्मार्ट, निर्धन उत्थान, विन नेपाल, धौलागिरि, स्वावलम्बन, उन्नति सहकार्य, इन्फिनिटी र सामुदायिकका निष्क्रिय कर्जाको अनुपात १० प्रतिशतभन्दा बढी देखिएको छ ।

सबैभन्दा बढी सामुदायिक लघुवित्तको निष्क्रिय कर्जाको अनुपात १४.२१ प्रतिशत छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा यो लघुवित्तको निष्क्रिय कर्जाको अनुपात ४.७२ प्रतिशत मात्रै थियो । इन्फिनिटी लघुवित्तको निष्क्रिय कर्जा १४.०४ प्रतिशत छ । यसको गत आर्थिक वर्षको सोही अवधिमा ३.६९ प्रतिशत मात्रै थियो ।

उन्नति सहकार्य लघुवित्तको निष्क्रिय कर्जाको अनुपात १३.४७ प्रतिशत पुगेको छ । गत आवमा यो अनुपात ४.८२ प्रतिशत थियो । त्यस्तै, स्वावलम्बन लघुवित्तको यस्तो अनुपात १२.९८ प्रतिशत छ । गत आवको तेस्रो त्रैमाससम्म यो अनुपात ४.५२ प्रतिशत मात्रै थियो ।

धौलागिरि लघुवित्तको यस्तो अनुपात १२.४५ प्रतिशत पुगेको छ भने विन नेपालको निष्क्रिय कर्जाको अनुपात १२.१५ प्रतिशत पुगेको छ । निर्धन लघुवित्तको यस्तो अनुपात १२.०९ प्रतिशत पुगेको छ ।

मनकामना स्मार्टको ११.९५ प्रतिशत, जनउत्थान सामुदायिकको ११.४८ प्रतिशत, आरम्भ चौतारीको १०.५८ प्रतिशत र युनिक नेपालको १०.२९ प्रतिशत पुगेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]