
बैंकिङ खबर/ एभरेष्ट बैंकको इटहरी शाखाबाट एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको छ । बचतकर्ताले आफ्नो खातामा जम्मा गरेको एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको हो ।
३३ जना बचतकर्ताको खाताबाट रकम चोरी भएपछि प्रहरीले बैंकको इटहरी शाखा प्रबन्धकसहित ९ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने सात जना बैंकका कर्मचारी हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पाँच महिनाको अवधिमा ३३ जना ग्राहकको खाताबाट एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको हो । पाँच महिनाको अवधिमा ५९ पटक कनेक्ट आईपीएसमार्फत सो रकम निकालेको देखिएको छ ।
बैंकका कर्मचारीले ग्राहकको कनेक्ट आईपीएसको आइडी पासवर्ड चोरर रकम पठाउने गरेका थिए । त्यस्तै कोर बैंकिङ्क सिस्टम (सीबीएस) बाट निस्क्रीय खातामा पठाउने र नक्कली चेक प्रयोग गरेर सो रकम निकालेको पाइएको प्रहरीले जनाएको छ ।
चोरीमा संलग्न भएको आरोपमा प्रहरीले बैंकको इटहरी शाखा प्रबन्धक सिन्धुपाल्चोक बाह्रविसे–८ घर भएका ४२ वर्षीय विश्वराज शाक्य, बैंकको उदयपुर गाइघाट शाखाका अपरेशन इञ्चार्ज विराटनगर– ८ का ३४ वर्षीय निरज प्रधान, एभरेष्ट बैंक इटहरी शाखाका सुपरभाईजर ३७ वर्षीय धावा लामा, बैंकका कनिष्ठ सहायकहरु २७ वर्षीय मनोज घिमिरे, २७ वर्षीय देवराज शर्मा, २७ वर्षकै रंजित पण्डित, बैंकको इटहरी शाखाकी टेलर ३० वर्षीय पवित्रा कटुवाललाई पक्राउ गरेको छ ।
त्यस्तै धनुसाको मिथिला नगरपालिका– ११ का ३४ वर्षीय शंकर भुजेल, भक्तपुरको सुर्यविनायक नगरपालिका– २ का २७ वर्षीय अजय खिउजू पक्राउ परेका छन् ।




