
बैंकिङ खबर/ पछिल्लो समय बैंकहरुको सिडि रेसियोमा सुधार आएको छ।नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुको कर्जा निक्षेप अनुपात ८५ प्रतिशतभन्दा तल झरेको छ । पछिल्लो समय बैंकिङ्ग प्रणालीमा तरलता बढ्दै जाँदा सिडि रेसियो निरन्तर घट्दो क्रममा देखिएको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार जेठ २ गतेसम्ममा बैंकहरुको सिडि रेशियो ८४.९८ प्रतिशतमा झरेको छ। यसले बैंकहरु अहिले कर्जा लगानी गर्न सहज अवस्थामा रहेको देखाएको छ ।
चालु आर्थिक वर्षको सुरुवातमा तरलता अभावले ९० प्रतिशत हाराहारी रहेको बैंकहरुको सिडि रेसियो अहिले घट्दो क्रममा छ । केहि बैंकको सिडि रेसियो ८० प्रतिशतभन्दा पनि तल झरेको छ ।
बैंकहरुको सिडि रेसियो घट्दै जाँदा बैंकहरुको लगानी गर्नसक्ने पूँजी पनि बढ्दै गएको देखिन्छ । पछिल्लो समय निक्षेप संकलन बढिरहेको भएपनि कर्जा लगानी खासै बढेको छैन । बैंकहरु असुलिमा केन्द्रित भएको कारण अहिले कर्जा लगानी उल्टो घट्दो क्रममा छ ।
बैशाख यता बैंकहरुको निक्षेप संकलन २ अर्ब रुपैयाँले बढेको छ भने कर्जा लगानी ३४ अर्ब रुपैयाँले घटेको छ । जेठ २ गतेसम्ममा बैंकहरुको कुल निक्षेप ४८ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ४२ खर्ब ९४ अर्ब रुपैयाँ छ ।




